मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचारहरु (भिडिओसहित)

दशैंका नौ दिन नौ दुर्गाको पूजा, यस्तो छ शास्त्रीय मान्यता !
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ ।

यस पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौंँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ ।

आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजाराधना गर्ने शास्त्रीय नियम छ । दुर्गापूजा र दशैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । दशैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।

अबको २३ वर्षमा गरिबी शून्यमा झार्छौं : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी ओलीले आगामी २३ वर्षभित्र गरिबी शून्यमा झार्ने बताएका छन् । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

जनताको जीवनस्तर उठाउने काममा सरकार निष्ठापूर्वक लागेको भन्दै ओलीले लामो समयदेखि सञ्चालित गरिब लक्षित कार्यक्रमको प्रतिफल वास्तविक गरिबसम्म अपेक्षित रुपमा पुग्न नसकेका कमजोरीबाट पाठः सिकेर गरिबी निवारणको आगामी बाटो तय गरेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले यो संकल्पमार्फत् गरिबी निवारण गरी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सक्रिय रहेको दाबी गरेका छन् ।

वीरगञ्जबाट २२ किलो ४ सय ग्राम सुन बरामद
प्रहरीले वीरगञ्जबाट २२ किलो ४ सयग्राम सुन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्जको कुम्हाल टोलमा रहेको गणेश अपार्टमेन्टमा छापा मारेर उक्त सुन नियन्त्रणमा लिएको हो ।

पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार अपार्टमेन्टको तेस्रो तलाको ३०३ नं. फ्ल्याटमा भारत पूर्वी चम्मपारण हरैयाका निवासी अशोक सिन्हाको बस्ने गर्थे ।

सो फ्ल्याटमा सुन रहेको विशेष सूचनाका आधारमा प्रहरी पुगेको थियो । सोही क्रममा उक्त सुनसँगै केही चाँदीसमेत बरामद गरिएको हो ।

ऋाजको कोरोना अपडेटः १२ जनाको मृत्यु, संक्रमित कति थपिए ?
नेपालमा कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय २७ पुगेको छ ।

यस्तै गत २४ घण्टामा थप ३ हजार १ सय ७६ जनामा संक्रमण पुष्टि हुँदा १ हजार ८ जना संक्रमणमुक्त भएर घर फर्केका छन् ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएका जानकारीअनुसार नेपालमा संक्रमितको कूल संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ । यस्तै आजसम्म ८९ हजार ८ सय ४० जना निको भएर घर फर्किएका छन् ।

प्रधानमन्त्री, राष्ट्रपति र पूर्वराजाले दशैंको टीका नलगाइदिने
पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंमा सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् । पूर्वराजा शाहका सहयोगी फणिराज पाठकले विज्ञप्ति निकाल्दै सो कुराबारे पुष्टि गरेका हुन् ।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले पनि कोरोना भाइरसकै कारण सर्वसाधारणलाई टीका नलगाइदिने भएकी छन् । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले सर्वसाधारणलाई टीका लगाइदिनेबारे अन्यौल नै रहेको बताए ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि टीका नलगाइदिने स्रोतले जनाएको छ । कोरोना भाइरसलाई नै मध्यनजर गर्दै ओलीले सर्वसाधारणलाई टीका नलगाइदिने तयारी गरेका हुन् ।

हिल्सामा चिनियाँ पक्षद्वारा घेरबार गरिएको छ ९ नम्बर पिलर
सीमा स्तम्भ भन्दा वारी पारीमात्रै भोगचलन गर्न पाइने मान्यतालाई लत्याएर चीनले नेपासँगको सीमा नाका हिल्सामा रहेको ९ नम्बर सीमा स्तम्भ आधा आफ्नोमा पर्ने गरी तारबार गरेको पाइएको छ ।

नेपाल तर्फ सीमा स्तम्भको आधा भाग छोडी आफू तर्फको आधा स्तम्भ समेत पर्ने गरी चीनले तारबार गरेको हो । चीनले सीमा स्तम्भलाई बिचमा पारेर आफ्नो भूभागलाई तारबार गरेको हो ।

सामान्यतः पिलरलाई छुट्टै स्थान दिनु पर्ने कुरालाई ध्यानै नदिएर हिल्साको मूख्य मार्गमै रहेको नौ नम्बर पिलरलाई चीनले तारबार गरेको हो । चीनले यस्तो गर्न नपाउने हिल्सा खटिँदै आएका सुरक्षकर्मी बताएका छन् ।

सरकारले आफ्नो भूमिसमेत दाबी गर्न सकेन : प्रकाशमान
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले आफ्नो भूमिसमेत दाबी गर्न नसकेको बताएका छन् ।

हुम्लामा नेपाली भूमि चीनले अतिक्रमण गरेकोबारे बुझ्न गएको सरकारी टोली नपुग्दै परराष्ट्र मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले भूमि मिचिएकै छैन भनेर अपरिपक्व अभिव्यक्ति दिएको उनले बताएका छन् ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले सरकारको परराष्ट्र नीति असन्तुलित देखिएको पनि बताएका छन् ।

चिनियाँ अधिकारी भन्छन्–‘नेपाली भूमि मिचिएको छैन, निर्मित भवन चीनको अलिको बुराङमा पर्छ’
चिनियाँ सरकारी अधिकारीहरुले हुम्लामा नेपाली भूमि नमिचिएको बताउँदै हालै बनेका भवनहरु चिनियाँ भूमिमै रहेको दावी गरेका छन् । उक्त भवनहरु बनेको गाउँको नाम चीनको अलिको बुराङ भएको उनीहरुको दावी छ ।

नेपालमा चीनले सीमा मिचेको विषय उठेपछि चिनियाँ अधिकारीहरुले दोस्रोपटक अनुगमन र मापनको काम गरेका थिए । सो टोलीले भवन चीनको बुराङ गाउँमा नै पर्ने निष्कर्ष निकालेको हो ।

कांग्रेस नेता जीवनबहादुर शाहीको टोली सीमा क्षेत्रको अनुगमनमा गएको थियो । उक्त टोलीले चीनले नेपाली सीमा मिचेको प्रतिवेदनसमेत तयार पारेको छ । यता सरकारले भने चीनले सीमा नमिचेको दावी गर्दै आएको छ ।

एमबाप्पेको दुई गोल, पीएसजी उक्लियो शीर्ष स्थानमा
फ्रेन्च फरवार्ड केलियन एमबाप्पेको दुई गोल सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले निम्समाथि फराकिलो जित दर्ता गर्दै फ्रेन्च लिग वानको शीर्षस्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा पीएसजीले १० खेलाडीमा सिमित निम्समाथि ४–० को जित निकालेको हो ।
यो जितपछि पिएसजी लिग वानको अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । ७ खेलमा ५ जित र २ हारसहित पिएसजी १५ अंकसहित शिर्ष स्थानमा उक्लिएको हो । निम्सको भने ७ खेलमा यो तेस्रो हार हो । २ जित र २ बराबरी खेलेको निम्सको ८ अंक रहेको छ ।

न्युजिल्यान्डमा प्रधानमन्त्री आर्डेनको लेबर पार्टी भारी मतले विजयी
न्युजिल्यान्डकी प्रधानमन्त्री ज्याकिन्डा आर्डेनले त्यहाँको आम निर्वाचनमा भारी विजय हासिल गरेकी छन् ।

आर्डेनको लेबर पार्टीले ४९ प्रतिशत भोट हासिल गरेको छ भने उनले बहुमतको विजय हात पार्ने निश्चित प्रायः रहेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

विपक्षी नेसनल पार्टीले अहिलेसम्म २७ प्रतिशत मत मात्र हासिल गरेको छ भने शनिबारको निर्वाचनमा पराजय स्वीकार गरिसकेको छ ।

सेप्टेम्बरमा हुने भनिएको निर्वाचन कोभिडका कारण एक महिना पछि सरेका हो । त्यहाँको समयअनुसार बिहान ९ बजे सुरु भएको निर्वाचन ७ बजे सकिएको हो ।

प्रतिक्रिया