कर्णाली विवाद : बालुवाटारमा छलफल हुँदै

काठमाडौं । कर्णालीमा देखिएको समस्याका बारेमा शनिबार (आज) प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा छलफल हुँदैछ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै कर्णालीका मुख्यमन्त्रीसमेत रहेका संसदीय दलका नेता महेन्द्रबहादुर शाही र प्रदेश कमिटीका पदाधिकारीबीच छलफल हुन लागेको हो ।

यस्तै छलफलमा असन्तुष्ट पक्ष पनि सहभागी हुने पार्टी केन्द्रीय सदस्य एवं प्रदेश कमिटी सचिव मायाप्रसाद शर्माले जानकारी दिए । यसैगरी शर्माका अनुसार स्थायी कमिटी सदस्य एवम् इन्चार्ज जनार्दन शर्मा, सहइन्चार्ज यामलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा, निलम्बित प्रमुख सचेतक गुलावजङ्ग शाह, सांसद चन्द्रबहादुर शाहीसहित कर्णाली विवादमा सामेल सबै सहभागी हुनेछन् ।

आजको बैठकले समस्याका बारेमा ठोस निर्णय लिनसक्ने बताइएको छ । यसअघि नै गत बिहीबार र शुक्रबार अध्यक्ष प्रचण्डले कर्णाली विवादका विषयमा मुख्यमन्त्री शाही र कँडेल पक्षका नेताहरुलाई आफ्नै निवास खुमलटार बोलाएर कुराकानी गरिसकेका छन् ।

गत आइतबार मुख्यमन्त्री शाहीविरुद्ध १८ जना सांसदले पार्टी संसदीय दलमा अविश्वास प्रस्ताव ल्याएपछि विवाद चर्किएको थियो । तर, त्यसपछि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्य निरज आचार्यलाई विवाद सल्टाउन दूतको रुपमा सुर्खेत पठाइएको थियो । आचार्यले नेपाल पक्षका नेताहरुलाई अविश्वास प्रस्तावबाट पछि हट्न सहमत गरेपछि सो प्रस्ताव अलपत्र परेको थियो ।

प्रतिक्रिया