आइतबार देखि ललितपुरका सरकारी कार्यालयबाट अत्यावश्यक सेवा वाहेकका सेवाहरु बन्द हुने

काठमाडाैं । कोरोना संक्रमितको संख्या अत्याधिक बढ्दै गएर स्वास्थ्य जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले सार्वजनिक कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवा वाहेक अन्य सेवाहरु आइतबार देखि बन्द गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले एक सूचना प्रकाशित गरी कार्तिक २ गते आइतबारबाट जिल्लामा रहेका सबै सरकारी कार्यालयहबाट प्रवाह हुने अत्यावश्यक वाहेकका कार्यहरु बन्द गरेको जनाएको छ ।

ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले सरकारी कार्यालयहरुमा दैनिक रुपमा बढेको भिडभाडले कोरोनाको जोखिम बढेकोले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, सबै सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ, सुरक्षा निकायको समेत छलफल र परामर्शबाट जिल्ला भित्र अत्यावश्यक वाहेकका सबै सेवाहरु बन्द गरिएको बताए ।

‘सरकारी कार्यालयहरु जस्तै मालपोत, नगरपालिका, वडा कार्यालय तथा जिल्ला प्रशासन कार्यालयहरुमा सेवाग्राहीको अत्याधिक भिड बढेकोले कोरोना संक्रमणको जोखिम कम गर्नका लागि अत्यावश्यक वाहेकका सेवाहरु बन्द गर्ने निर्णय भएको हो ।’ सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले भने ।

जिल्लामा बजार तथा निजी कार्यालयहरु भने खुल्ला रहनेछन् । पहिले पुरै जिल्ला नै बन्द गर्ने भनिएपनि चाडवाड नजिकिएकाले आम सर्वसाधारणलाई पर्ने असर दृष्टिगत गरी सार्वजनिक सेवाहरुमात्र बन्द गर्ने निर्णय भएको बस्नेतले बताए ।

पछिल्लो समय राजधानीमा कोरोना संक्रमणको बृद्धि दर उच्च रहेको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर तथा ललितपुरमा अत्याधिक रुपमा कोरोना संक्रमित बढेपछि ललितपुर जिल्ला प्रशासनले सरकारी सेवाहरु अर्को सूचना नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

 

प्रतिक्रिया