भियतनाममा भीषण बाढी, ५५ जनाको मृत्यु

एजेन्सी । पूर्वी एसियाली मुलुक भियतनामको मध्यक्षेत्रमा आएको भीषण वर्षासँगैको बाढी पहिरोमा परेर कम्तीमा ५५ जनाको मृत्यु भएको छ ।

भियतनामको केन्द्रीय विपद् समितिले विगत १० दिनको अवधिमा बाढी पहिरोमा परेर अरू केही व्यक्ति बेपत्ता भएको जनाएको छ ।

भियतनामको मध्य क्षेत्रका क्वाङ ट्रि, थुआ थिएन हुई र क्वाङ नाम प्रान्तमा सबैभन्दा बढी असर परेको छ । थुआ थिएन प्रान्तको फोङ डाइन जिल्लामा बाढी पहिरो पीडितको उद्धारका लागि गएका १३ जना उद्धारकर्मीको पहिरोमा परेर ज्यान गएको समितिले जनाएको छ ।

केन्द्रीय विपद् समितिका अनुसार बाढी पहिरोमा परेका व्यक्तिहरूको उद्धार र खोजी कार्य जारी रहेको छ । देशको सेना र प्रहरीलाई पनि उद्धार र राहतका कार्यमा खटाइएको छ ।

गत अक्टोबर ५ देखि १३ तारिखसम्मको अवधिमा भियतनामको मध्यक्षेत्रमा ठूलो वर्षा भएको थियो । केही क्षेत्रमा २ हजार मिलिमिटरसम्म वर्षा भएको छ ।

झण्डै ९०० हेक्टर धानखेती र ५ हजार ५०० हेक्टर अन्य बालीमा बाढी पसेको छ । यहीबीच चार लाख ४५ हजार पशुपंक्षी पनि बाढीको चपेटामा परेका केन्द्रीय समितिले जनाएको छ ।

भियतनामको केन्द्रीय जलवायु विज्ञान विभागले शुक्रबारदेखि फेरि वर्षा हुने र योक्रम आगामी अक्टोबर २१ सम्म रहने जनाएको छ ।

सेप्टेम्बर २२ सम्ममा प्राकृतिक प्रकोपमा परेर भियतनाममा ९३ जनाको मृत्यु भएको र २७२ जना घाइते भएका छन् । बाढी, पहिरो र भारी वर्षाका कारण झण्डै २२ करोड डलर बराबरको क्षति भएको छ ।

प्रतिक्रिया