कोरोना भाइरस उपचार : रेम्डेसिभिर प्रभावकारी देखिएन

एजेन्सी । कोरोना भाइरसबाट हुने कोभिड १९ को निदानको लागि रेम्डेसिभिर नामक औषधि प्रभावकारी नदेखिएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ । संगठनका अनुसार रेम्डेसिभिर नामक औषधिको कोभिड १९ उपचारमा प्रभावकारिताबारे गरिएको क्लिनिकल परीक्षणमा बिरामीको स्वास्थ्यमा त्यसले खासै कुनै सुधार ल्याउन नसकेको पाइएको हो ।

फाइन्यान्शल टाइम्समा प्रकाशित विवरणमा डब्ल्यूएचओले यो नतिजाले उक्त रोगको उपचारमा विद्यमान उपलब्ध औषधिहरूको प्रयोगको आशामा धक्का लागेको बताएको छ । उक्त परीक्षणमा रेम्डेसिभिर तथा अन्य तीन औषधिको अस्पतालमा भर्ना भएका ११,००० बिरामीमा प्रयोग गरिएको थियो ।

ती कुनै पनि औषधिले बिरामीको जीवित रहने सम्भावना वा उनीहरूलाई भेन्टिलेटर आवश्यक पर्ने नपर्ने अनि कति लामो समय अस्पतालमा बस्नुपर्ने भन्नेबारे खासै प्रभाव पारेको नदेखिएको बीबीसीले जनाएको छ ।

तर रेम्डेसिभिर औषधि निर्माता कम्पनी गिलियड साइन्सेसले प्रतिक्रिया दिँदै उक्त परीक्षणको आँकडा मिल्दो नदेखिने दाबी गरेको छ । बीबीसीबाट–

प्रतिक्रिया