प्रधानमन्त्रीलाई बाबुरामको प्रश्न : ‘ठूला भ्रष्टाचारको निष्पक्ष छानविन गर्न कसले रोकेको हो ?’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठूला भ्रष्टाचारको निष्पक्ष छानविन गर्न कसले रोकेको हो ? भनी प्रश्न गरेका छन् ।

६५ औं प्रहरी दिवसको अवसर शुक्रबार (आज) प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका प्रधानमन्त्री ओलीले बूढीगण्डकी जलविद्युत आयोजनामा ९ अर्ब भ्रष्टाचार गरेको बाबुरामको आरोप निराधार रहेको बताउँदै आफूले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाएको बताएका थिए ।

प्रधानमन्त्रीको उक्त सम्बोधनपछि ट्वीट् गगरेका डा. भट्टराईले लखेका छन्–‘प्रधानमन्त्रीको भ्रष्टाचारप्रति साँच्चै शून्य सहनशीलता हो भने बुढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रेस, यति, ओम्नीलगायत सबै ठूला भ्रष्टाचार प्रकरणको उच्चस्तरीय र निष्पक्ष छानविन गर्न कसले रोकेको हो त ? कुराले हैन काम गरेर देखाउनुस् । नत्र ढाँटको कुरा खाइ पत्याउनु !’

केही दिनअगाडि गृहजिल्ला गोरखा पुगेका डा. भट्टराईले ओली, नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाले बूढीगण्डकीमा भ्रष्टाचार गरेको प्रमाण आफूसँग रहेको बताएका थिए ।

यसपछि नेकपा र कांग्रेसले डा. भट्टराईलाई प्रमाण पेश गर्न चुनौतीसमेत दिएको थियो । डा. भट्टराईले भने आफूसँग प्रमाण भएको र जहाँ पायो त्यहीँ नदेखाउने जिकिर गर्दै आएका छन् ।

 

प्रतिक्रिया