बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको जवाफ : ‘हामी त्यस्तो अनैतिक हुन सक्दैनौं’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आरोपको खण्डन गरेका छन् ।

६५ औं प्रहरी दिवसको अवसरमा शुक्रबार (आज) प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका प्रधानमन्त्री ओलीले बूढीगण्डकी जलविद्युत आयोजनामा ९ अर्ब भ्रष्टाचार गरेको आरोपको खण्डन गरेका हुन् । सम्बोधनका क्रममा उनले भनेका छन्–‘हामी त्यस्तो गैरजिम्मेवार र अनैतिक हुन सक्दैनौं, त्यस्ता हर्कत हामी गर्न सक्दैनौं ।’

यस्तै ओलीले आफ्नो सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशिलताको नीति अवलम्बन गरेको दावी गर्दै ओलीले भट्टराईप्रति संकेत गरी भनेका छन्–‘केहीले गैह्रजिम्मेवार तरिकाले बोलेर हिँडेको सुनेँ, कार्यारम्भ नै नभएको कसले कसरी काम गर्छ भन्ने टुंगो नभएको आयोजनामा बाँडेर खाए भन्ने गैह्रजिम्मेवारी अभिव्यक्ति निराधार छ ।’

केही दिनअगाडि गृहजिल्ला गोरखा पुगेका डा. भट्टराईले ओली, नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाले बूढीगण्डकीमा ९ अर्ब भ्रष्टाचार गरेको प्रमाण आफूसँग रहेको बताएका थिए ।

यसपछि नेकपा र कांग्रेसले डा. भट्टराईलाई प्रमाण पेश गर्नसमेत चुनौती दिएको थियो । डा. भट्टराईले भने आफूसँग प्रमाण भएको र जहाँ पायो त्यहीँ नदेखाउने जिकिर गर्दै आएका छन् ।

प्रतिक्रिया