निर्मला प्रकरणमा निलम्बित अंगुर जीसीसहित तीन प्रहरीको निलम्बन फुकुवा

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तकाे बलात्कार तथा हत्या घटनामा अनुसन्धानमा लापरवाही भएकाे भन्दै निलम्बनमा परेका तीन प्रहरीकाे निलम्बन फुकुवा भएकाे छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट अनुसन्धानका लागि कञ्चनपुर पुगेका प्रहरी नायब उपरीक्षक (डीएसपी) अंगुर जिसी, कञ्चनपुरमै कार्यरत प्रहरी नायब निरीक्षक (सई) रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदको निलम्बन फुकुवा भएको हो ।

निर्मला प्रकरणकाे अनुसन्धानका क्रममा आरोपितलाई यातना दिएको तथा प्रमाण नष्ट गरेकाे भन्दै उनीहरू विरूद्ध मुद्दा दर्ता भएको थियो । अहिले उक्त मुद्दामा जिल्ला अदालतले सफाइ दिइसकेकाे छ । अब निलम्बन फुकुवा भएसँगै उनीहरु प्रहरीको नियमित काममा फर्किने बाटो खुलेको छ ।

डीएसपी जिसीको निलम्बन गृहले फुकुवा गरेको हो भने धामी र साउदको प्रहरी प्रधान कार्यालयले गरेको हो । उनीहरुमाथि लागेको प्रमाण नष्टको मुद्दामा जिल्ला अदालत, कञ्चनपुरले सफाइ दिइसकेको छ ।

गृह मन्त्रालयले ३१ भदौ २०७५ मा सीआईबीका तत्कालीन डीएसपी जिसी, जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, प्रहरी नायब निरीक्षक (सई) रामसिंह धामीलाई निलम्बन गरेको थियो ।

तत्कालीन ‘सिन अफ क्राइम सोको’ अफिसर प्रहरी नायब निरीक्षक (सई) हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद पनि निलम्बनमा परेका थिए । उनीहरुमध्ये डीएसपी सेटी, प्रहरी निरीक्षक खड्का र सई धामीले ३० वर्षे सेवा अवधिका कारण अवकाश पाइसकेका छन् ।

निर्मलाको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएकाे थियाे । साथीको घरबाट हराएकी किशोरी पन्तको मृत शरीर भोलिपल्ट अर्थात् साउन ११ गते स्थानीय उखुबारीमा फेला परेको थियो । उक्त घटनाको अनुसन्धानका क्रममा एक दर्जन बढी प्रहरीमाथि यातना दिएकाे तथा अनुसन्धानमा लापरवाही गरेकाे आरोप लागेको थियो ।

स्थानीय बासिन्दाले हत्याकाण्डमा प्रहरीको हात रहेको आशंका गरी छानविन गर्न माग गरेका थिए । प्रहरीको विरूद्धमा भएको प्रदर्शनमा गोली लागि थप एक युवकको समेत मृत्यु भएको थियो । त्यसपछि भदौ ७ गते सरकारले उक्त घटनाको लागि एक विशेष छानविन समिति गठन गरेको थियो । छानविन आयोगले घटनाको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको प्रतिवेदन दिएको थियाे । अहिले आरोपित प्रहरीहरूले सफाइ पाइसकेका छन् ।

प्रतिक्रिया