‘केपी ओली विधिअनुसार चल्नु र कुकुरको पुच्छर सोझिनु उस्तै हो’

काठमाडौं । लेखक तथा राजनीतिक  विश्लेषक खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओली विधिअनुसार चल्न नसक्ने बताएका छन् । प्रधानमन्त्री ओलीले ११औं पटक मन्त्रिपरिषद् पुनर्गठन बुधबार (हिजो) गरेपछि ट्वीट् गरेका संग्रौलाले यस्तो टिप्पणी गरेका हुन् ।

यस्तै संग्रौलाले छापामार शैलीमा आफ्नै पक्षका तीन नेतालाई मन्त्रीमा भर्ती गरेको पनि बताएका छन् । उनले भनेका छन्–‘अस्तिमात्र पीके पूर्ण अध्यक्ष, केपीलाई प्रमको पूर्ण कार्यकाल, सरकार पार्टी निर्देशनमा विधिसम्मत ढङ्गले चल्ने त्यत्रो हल्ला भा’थ्यो । आज केपीले ‘इस् तेरो हल्ला’ भन्दै छापामार शैलीमा आफ्नै गुटका ३ मन्त्री भर्ती गरे । केपी विधिअनुसार चल्नु र कुकुरको पुच्छर सोझिनु उस्तै कुरा हो ।’

प्रधानमन्त्री ओलीले हिजो मात्रै रिक्त मन्त्रालयमा तीन मन्त्रीलाई नियुक्त गरेका छन् । अर्थमन्त्रीमा विष्णु पौडेल, शहरी विकामन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिलामन्त्रीमा लीलानाथ श्रेष्ठले प्रधानमन्त्री ओलीले नियुक्त गरेका छन् ।

नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन् । शीतलनिवासमा आयोजित एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले पौडेल र श्रेष्ठद्वयलाई शपथ ग्रहण गराएकी हुन् ।

प्रतिक्रिया