मकालु खबर दिनभर: ईश्वर पोखरेलको मन्त्रालय खोसिँदा विष्णु पौडेललाई अर्थ (भिडिओसहित)

मन्त्रिपरिषद् पुनर्गठन

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् । उनले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिएका छन् ।

रक्षा मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री आफैँले लिएका छन् । त्यस्तै विष्णु पौडेललाई अर्थ मन्त्रालय, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको पुष्टि गरेको छ ।

बाबुरामलाई नेकपाको चुनौती :

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बुढीगण्डकी जलविद्युत आयोजनामा घुस लिएको भनी डा. जसपा नेता बाबुराम भट्टराईले लगाएको आरोप आधारहीन र झुटो भएको बताएका जनाएको छ ।

नेकपाले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घुस लिएको प्रमाण पेश गर्न चुनौती समेत दिएको छ ।

केही दिनअघि गृह जिल्ला गोरखामा भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री प्रचण्ड र शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ घुस लिएको प्रमाण आफूसँग रहेको बताएका थिए । कांग्रेसले यसअघि नै बाबुरामलाई प्रमण भए पेश गर्न चुनौती दिएको थियो ।

आजको कोरोना अपडेटः १२ जनाको मृत्यु, संक्रमित कति ?

नेपालमा कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृतकको संख्या ६ सय ७५ पुगेको छ ।
यस्तै गत २४ घण्टामा २ हजार ६ सय ३८ जनामा संक्रमण पुष्टि हुँदा २ हजार १ सय ७४ जना डिस्चार्ज भएका छन् ।

आज काठमाडौंमा ९ सय ९६, भक्तपुरमा १ सय २ र ललितपुरमा १ सय २ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

बामदेव गौतमविरुद्ध परेको मुद्दाको सुनुवाइ अब कहिले ?

राष्ट्रिय सभामा मनोनीत बामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि बुधबार पनि सुनुवाइ भएको छैन । कोरोना भाइरसबाट हुने कोभिड १९बाट केही न्यायाधीश संक्रमित भएपछि सुनुवाइले निरन्तरता नपाएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले हेरिरहेको मुद्दा गत १६ असोजमा हेर्दाहेर्दैमा राखिएको थियो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले गौतमको नियुक्ति बदर गर्न माग गर्दै अशोज ५ गते रिट दायर गरेका थिए । रिटको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश आनन्द मोहन भट्टराईको एकल इजलासले गौतमलाई ‘थप संवैधानिक नियुक्ति नदिन’ र संवैधानिक इजलासमा थप सुनुवाइ गर्न आदेश दिएको थियो ।

अब कोरोना बीमा गर्नेले पैसा नपाउने

कोरोना बीमा गरेका बीमितले अब कोरोना बीमा गरेको रकम नपाउने भएका छन् । कोरोना भाइरसको परीक्षणदेखि उपचारसम्म सरकारले नै निःशुल्क गरिरहेको भएपनि अबदेखि भने कोरोना बीमा रकमबाट सरकारले उपचार खर्च कटाउन लागेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको नियमित मिडिया ब्रिफिङ्गमा कोरोना बीमा गर्नेहरुको बिमाङेक रकमबाट उपचार खर्च कटाउने निर्णय भएको बताएका छन् ।

नेपालमा मात्रै बीमा समितिको पहलमा ल्याइएको कोरोना बीमामा पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना भाइरस संक्रमण भएको पुष्टी हुनसाथ दाबी भुक्तानी पाइने व्यवस्था छ ।

नेपाल संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा पुनः निर्वाचित

नेपाल संयुक्त राष्ट्र संघको मानव अधिकार परिषद्को सदस्यमा पुनः निर्वाचित भएको छ । मंगलबार राति राष्ट्र संघ मुख्यालयमा भएको मतदानमा १५० भोट प्राप्त गर्दै नेपाल निर्वाचित भएको हो ।

सन् २०१८ देखि यसको सदस्य रहँदै आएको नेपालले १५० भोट प्राप्त गर्दै सन् २०२३ सम्म यसको सदस्य रहने भएको छ ।
एसियाबाट नेपालसहित चीन, पाकिस्तान र उज्बेकिस्तान निर्वाचित भएका छन् ।

परिषद्मा कुनै एक देश दुई पटकसम्म निर्वाचित हुने व्यवस्था छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले यसबारे पुष्टि गर्दै १ सय ५० मतका साथ विजयी गराउने सबै देशलाई धन्यवाद दिएका छन् ।

विज्ञापन नहटाए विदेशी च्यानल बन्द गरिने

सरकारले आगामी कार्तिक ७ गतेसम्म विज्ञापन नहटाए विदेशी च्यानल बन्द गर्ने चेतावनी दिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै ०७७ कात्तिक ७ गतेभित्र विज्ञापनरहित (क्लिन फिड) प्रशारण नभएमा प्रचलित कानून बमोजिम कारवाही हुने चेतावनी दिएको हो । नेपालमा क्लिनफीड प्रशारणको माग पहिल्यैदेखि नै हुँदै आएको थियो ।

दुई डिएसपीसहित २२ प्रहरी घाइते

दलित हत्याको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढा हुँदा दुई डिएसपीसहित २२ प्रहरी घाइते भएका छन् ।
गत २२ गते सिसौट रामनगर गाउँपालिकाका ६५ वर्षीय महेन्द्र रामको हत्या भएको थियो ।

टोल–टोलबीच ढुंगामुढा हुँदा रामको ढुंगाले लागेर मृत्यु भएको हो । उनको हत्यामा संलग्न तीन जना अहिले पक्राउ परिसकेका छन् । तर आफन्तले भने १० लाख क्षतिपूर्तिसहित अन्य ९ जनाको नाम पनि समावेश गरेर जाहेरी दरखास्त दर्ता गर्नुपर्ने दबाब दिएका छन् ।

आफन्तले शव समेत अझै बुझ्न मानेका छैनन् । मृतकको शव वीरगन्जस्थित प्रादेशिक अस्पतालमा राखिएको छ ।

नेयमारको ह्याट्रिकमा ब्राजिलको जित

ब्राजिलले विश्वकप छनौट चरणको दोस्रो खेलमा पनि जित हासिल गरेको छ । फरवार्ड नेयमारले ह्याट्रिक गरेपछि दक्षिण अमेरिकी च्याम्पियन ब्राजिलले विश्वकप छनोटमा पेरुलाई ४–२ ले पराजित गरेको हो ।

दोस्रो हाफको ५६ औं मिनेटमा रेनाटो टापियाले गोल गर्दै पेरुलाई पुनः अग्रता दिलाए । तर ८ मिनेटपछि नै ब्राजिलका रोबर्टो फिर्मिनोको हेडरमा रिचार्लीसनले गोल गर्दै खेल बराबरीमा ल्याए ।

योसँगै ब्राजिलले आगामी सन् २०२२ मा कतारमा हुने विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ ।

किर्गिजस्तानको संसदद्वारा संकटकाल अनुमोदन

किर्जिस्तानको संसदले मुलुकमा संकटकाल घोषणा गर्ने राष्ट्रपति सूरोनबाई जीन्बेकोभको आदेशलाई अनुमोदन गरेको छ ।
हालै सम्पन्न संसदको निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै राजधानी समेत देशका विभिन्न शहरमा विरोध प्रदर्शन भएपछि राष्ट्रपति सूरोनबाईले संकटकाल घोषणा गरेका थिए ।

राष्ट्रपति सूरोनबाईले शुरुमा राजधानी विश्केकमा गत शुक्रबार संकटकालीन आदेश जारी गरेका थिए, तर कानुन बमोजिम संसदले तीन दिनभित्र राष्ट्रपतिको आदेशलाई अनुमोदन गर्न असफल भएको थियो ।

सोमबार, राष्ट्रपतिले दोस्रो पटक आदेश जारी गर्नु भएको थियो र मंगलबार त्यसलाई संसदले अनुमोदन गरेको हो ।

प्रतिक्रिया