औषधि पसलमा अनुगमन : ५ पसल सिल, १७ वटा बन्द गरेर फरार

  • भरतराज शर्मा (गोपाल)

सुनसरी । सुनसरीको धरान-१८ मा रहेकाे वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गेट अगाडी सञ्चालित औषधि पसलहरुले मनोमानी ढंगले औषधि वितरण गरेकाे पाइएपछि औषधि व्यवस्था विभागले अनुगमन गरेको छ ।

अनुगमनका क्रममा ७ वटा औषधि पसलहरु शिल गरिएकाे छ । पञ्चमुखी फार्मेसी, प्रनित फार्मेसी, नमस्कार फार्मेसी, फ्रेण्डस फार्मेसी, ग्रीन मेडिकल हल, भृकुटी फार्मेसी र बुढाथोकी फार्मेसी शिल गरिएकाे हाे ।

यस्तै १७ वटा पसलहरू भने अनुगमन पूर्व नै बन्द गरी सञ्चालकहरू फरार भएका छन् । संस्कृति फार्मेसी, जमुना फार्मेसी, जनसेवक मेडिको, पुर्णिमा मेडिकल हल, हार्दिक फार्मेसी, बबिता मेडिकल हल, साहारा मेडिकल हल, मारुती मेडिकल हल, सुविधा फार्मेसी, गर्जिन फर्मा, माहि मेडिकल हल, सुप्रिया फार्मेसी, सेलिजा फार्मेसी, सुनकोशी फार्मेसीका सञ्चालकहरू अनुगमन आउनु पूर्व नै पसल बन्द गरेर फरार भएका हुन् ।

औषधि व्यवस्था विभाग विरानटरगर र स्थानीय प्रहरी कार्यालयकोे सहयोगमा बुधबार गरिएको छड्के अनुगमनमा अधिकांश  औषधी पसलहरुले बिक्री वितरण गर्दा बिलको प्रयोग नगर्ने, वास्तविक मूल्य भन्दा चर्को मूल्य लिने, पसल अर्काकै नाममा रहेपनि अर्कै व्यक्तिले औषधी बिक्री-वितरण गरेको भेटिएको थियो ।

ती पसलका सञ्चालकहरूलाई सचेत गराइ कारवाहीका लागि औषधि व्यवस्था विभागमा ७ दिनभित्र उपस्थित हुन लगायतका निर्देशन दिइएकाे औषधि व्यवस्था विभागका अधिकृत सञ्जीव कट्टेलले जानकारी दिए ।

त्यस्तै अनुगमनका क्रममा सम्बन्धित मेडिकलहलहरुमा कानुन अनुसार मिल्न सक्ने खालका कमी-कमजोरीहरुलाई सच्याउनका लागी एक हप्ताभित्र औषधी व्यवस्था विभागमा आ-आफ्नाे कागजपत्र कार्यालयमा बुझाउन पनि टोलीले निर्देशन दिएको छ ।

विभागबाट आएको टोलीमा अधिकृत सञ्जिव कट्टेल, नायव सुब्बा चन्द्र कला खनाल र राम कुमार माफी लगायतका कर्मचारी रहनुका साथै स्थानीय प्रहरी प्रशासनको पनि उपस्थिति रहेको थियो । सो टोलीले धरानका करिब ३० वटा औषधि पसलहरुको अनुगमन गरेकाे थियाे ।

प्रतिक्रिया