रेमडेसिभिर इन्जेक्सन सहज उपलब्ध गराउन माग राख्दै औषधी व्यवसायीले बुझाए ज्ञापनपत्र

विराटनगर । नेपालमा कोरोना संक्रमितको उपचारमा ‘रेमडेसिभिर इन्जेक्सनको’ प्रयोग हुन थालेपछि कालोबजारी हुने गरेकोले औषधी व्यवसायीहरुले विकृति नियन्त्रण गरि राज्यले सहज रुपमा रेमडेसिभिर उपलब्ध गराउनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले बुधबार प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई भेटेर रेमडेसिभिर इन्जेक्सन सहज रुपमा उपलब्ध गराउन माग राख्दै ज्ञापनपत्र बुझाएका हुन् ।
उनीहरूले नेपाल औषधी व्यवस्था विभाग विराटनगर र जिल्ला प्रशासन कार्यालय मोरङमा पनि ज्ञापन पत्र बुझाएका हुन् । संघका अध्यक्ष लक्ष्मी तिम्सिना, उपाध्यक्ष देशबन्धु ढकाल र महासचिब दिनेश ठाकुरले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका थिए।
संक्रमितको उपचारमा प्रयोग गर्न थालिएसँगै रेमडेसिभिर इन्जेक्सनको कालोबजारी सुरु हुन थालेको छ । भारतमा प्रतिभाइल ४ हजार ५ सय (७ हजार २ सय नेपाली रुपैयाँ) मा पाइने यो इन्जेक्सन नेपालमा ५० देखि ६० हजार रुपैयाँसम्ममा खरिद-बिक्री हुन थालेको छ । राज्यले रेमडेसिभिर इन्जेक्सन सहज उपलब्ध नगराउँदा अहिले महंगोमा बिरामीका आफन्तले खरिद गर्न बाध्य हुनु परेको नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले बताए ।
उनले भने, ‘यस्तो बेला पनि स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा यो हदसम्म कालोबजारी ठीक हाेइन, पैसा हुनेले पो तिर्न सक्लान् । पैसा नहुनेले यति महँगोमा औषधि कसरी खरिद गर्न सक्छन ?’ कालोबजारी रोक्न सहज रूपमा रेमडेसिभिर इन्जेक्सन उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।








