प्रदेश सरकारमा मानवीय संवेदना र करुणा नदेखिएको प्रतिपक्षको आरोप

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १५ दिनभित्र एक हजार शैय्याकाे कोभिड अस्पताल तयार पार्न माग गरेको छ । विराटनगरमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाली कांग्रेसले तत्काल कोरोना संक्रमितको उपचारका लागि आवश्यक व्यवस्थापनसहित एक हजार शैय्या कोभिड अस्पताल तयार पार्न माग गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै विपक्षी दलका नेता राजीव कोइरालाले लकडाउन अवधिमा कोभिड अस्पतालको निर्माण गर्नका लागि प्रशस्त अवसर भएपनि प्रदेश सरकार चुकेको आरोप लगाए । प्रदेश सरकार विपद् व्यवस्थापन समितिलाई क्रियाशील बनाउन आग्रह गर्दै चौतर्फी संकटका समय राज्य एकलकाटे भएको काेइरालाले टिप्पणी गरे ।

यस्तै प्रदेश सभाका प्रमुख सचेतक केदार कार्कीले प्रेस विज्ञप्ति जारी गर्दै साउनको अन्तिम हप्तामा यस प्रदेशका माननीय मुख्यमन्त्री शेरधन राईले प्रदेश प्रदेश राजधानी विराटनगरमा एक महिनाभित्र एक हजार शैय्याको कोभिड अस्पतालको निर्माण गर्ने घोषणा गरेको स्मरण गराए । विज्ञप्तिमा कार्कीको प्रश्न छ, ‘यो घोषणा उहाँले सार्वजनिक रुपमा गर्नुभयो । राजनीतिक दलहरुको बैठकमा पनि गर्नुभयो र सञ्चारमाध्यमबाट प्रचार प्रसार पनि गर्न लगाउनु भयो । तर कहाँ छ कोभिड अस्पताल ?’

उनले भने, ‘अर्कातिर भेन्टिलेटरयुक्त उपचार नपाएर प्रदेश कोभिड १९ का बिरामीहरु घरघरमै छटपटाएर मरिरहेका छन् । प्रदेश सरकारलाई यसको कुनै वास्ता छैन । मुख्यमन्त्री र अन्य मन्त्रीहरु सार्वजनिक उद्घाटन र शिलान्यासमै व्यस्त देखिएका छन् । प्रदेश सरकारमा अलिकति पनि मानवीय संवेदना र करुणा देखिएको छैन ।’

कार्कीले प्रदेश नम्बर १ कारोना संक्रमणको हटस्पट बनेको बताउँदै महामारीको समयमा जन परिचालनमा सरकार चुकेको टिप्पणी गरे । उनले भने, ‘मास्कको प्रयोग नगरी र दूरी कायम नगरी तीन तहकै सरकारका बैठक, समारोह र कार्यक्रम भइरहेका छन् । अगुवा भनेको सरकारकै अवस्था असभ्य र अशिक्षित प्रकारको देखिएकाे छ ।’

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालका ८ भेन्टिलेटरमध्ये ५ वटा बिग्रिएको र कोशी कोभिड अस्पतालका ५ मध्ये २ वटा बिग्रेको जानकारी गराए । उनले प्रदेशमा कोभिड १९ का बिरामीले समन्य न्यूनतम उपचारसमेत नपाउने अवस्था उत्पन्न भएको कार्कीले उल्लेख गरेका छन् ।

उनले नाेबेल, न्यूरो र बिराट जस्ता निजी क्षेत्रमा अस्पतालका भेन्टिलेटर यहाँका बिरामीका लागि अपर्याप्त भएको स्पष्ट पारे ।

‘अत्यधिक बहुमत प्राप्त प्रदेश सरकारबाट हामीले गरेको अपेक्षा चकनाचुर भएको छ । प्रदेशका नागरिक उपचार नपाएर आफ्नै घर वा डेराको आइसोलेसनमा अत्यन्त दयनीय र पीडादायी रुपमा मर्न बाध्य छन् तर पनि सरकारको आँखा खुलेको छैन’, उनले भने, ‘प्रदेश सरकारलाई साधन, स्रोत र बजेटको अभाव पनि भएको होइन । अभाव त कार्यशैलीको कार्यक्षमताको र योग्यताको देखिएको छ ।’

प्रतिक्रिया