कर्णाली विवाद : आजै बस्ला त बैठक ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) कर्णाली संसदीय दलका नेता एवम् मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको तरंग केन्द्रसम्म पुगेको छ ।

प्रदेशको विवाद समाधानका लागि अहिले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच छलफल, भेटवार्ता भइरहेका छन् । उक्त विवाद सल्टाउन नसके पार्टी एकतालाई समेत धक्का पुग्ने नेकपा प्रदेशस्तरीय नेताहरुले चेतावनी दिइरहेका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव आएकै कारण केन्द्रसम्म समाधानको निकास खोज्ने प्रयास भइरहेकाे छ । यद्यपी  विवाद समाधान हुनुकाे सट्टा उल्टाे चर्किएकाे छ ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनेबित्तिकै मुख्यमन्त्री शाहीले आफ्नाे बचाउका लागि एक्सन लिए । उनले आज (मंगलबार) दिउँसो एक बजे दलको बैठक डाक्ने प्रमुख सचेतक गुलावजंग शाहलाई पदमुक्त गरी सचेतक सीताकुमारी नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गरे । प्रमुख सचेतकमा नेपालीलाई नियुक्त गरेसँगै आगामी कार्तिक ७ गते दलको बैठक आह्वान गरिएकाे छ ।

नेकपाभित्र बहुमत आएसँगै मुख्यमन्त्री पद छोड्न नचाहेका नेता यामलाल कँडेल पक्षले भने दलको बैठक आजै बस्ने तय गरेको छ । प्रमुख सचेतकबाट हटाइएका शाहले पनि विश्वास गुमाइसकेका दलका नेताले हटाउँदैमा आफूलाई मान्य नहुने भन्दै अहिले मुख्यमन्त्री शाही निलम्बित जस्तै रहेकाे र उनले केही गर्न नपाउने दाबी गरेका छन् ।

मुख्यमन्त्रीले हटाएका प्रमुख सचेतक शाहले दलको बैठक आजै बस्ने बताएका छन् । अविश्वासको प्रस्ताव आइसकेपछि छलफलका लागि बैठक बोलाउने आफ्नो भएकाले सबै माननीज्यूहरुलाई खबर भएको उनकाे भनाइ छ । आफ्नै अध्यक्षतामा दलको बैठक बस्ने उनले बताए ।

उता मुख्यमन्त्री पक्ष भने बैठक अहिले नबाेलाउने पक्षमा छ । प्रमुख सचेतक शाहले आज (मंगलवार) बोलाइएको बैठक बस्न नमिल्ने प्रमुख सचेतक नेपालीलेकाे तर्क छ ।

आइतबार शाहीविरूद्ध तत्कालीन एमालेका १५ र माओवादी केन्द्रका ३ गरी १८ सांसदले  अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । ३३ जनामध्ये १८ जना सांसद अविश्वासको प्रस्तावको पक्षमा उभिएपछि संसदीय दलमा शाही अल्पमतमा परेका छन् ।  संसदीय दलमा अल्पमतमा परेसँगै उनको सरकार पनि ढल्ने भएपछि केन्द्रमा प्रचण्डले सक्रियता बढाएका छन् ।

प्रतिक्रिया