जसपाले कोरोना प्रोटोकल उलंघन गरेको भन्दै सरिता गिरीद्वारा कारवाहीको माग

काठमाडौं । कोरोना संक्रमणको चरम अवस्थामा जनता समाजवादी दलले पर्साका विभिन्न स्थानमा स्वास्थ्य प्रोटोकल विपरित सयौंको संख्यामा जनता भेला गरेर गरेको शुभकामना आदानप्रदान कार्यक्रमको तराई मधेश वृहद् लोकतान्त्रिक मोर्चाले आपत्ति जनाएको छ ।

मोर्चाकी संयोजक पूर्व सांसद सरिता गिरीले जनताको स्वास्थ्य सुरक्षा खतरामा पारेर गरेको शुभकामना आदान प्रदान प्रति आपत्ति जनाएकी हुन् ।

‘हिजो असोज २६, सोमवारका दिन कोरोना संकमणको दौरान पर्सा जिल्लाको सखुवा पर्सौनी गाविस र उक्त गाविसको महुवन र औराहामा जनता समाजवादी पार्टीले सैयौंको संख्यामा जनतालाई भेला गराई आयोजना गरेको शुभकामना आदान प्रदान र पार्टी प्रवेश कार्यक्रमको हामी घोर विरोध गर्दछौं ।’ गिरीले भनेकी छन् ।

उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्री समाजवादीका नेता डा. बाबुराम भट्टराई, पूर्व उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका उपेन्द्र यादव तथा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत समेतको उपस्थिति रहेको थियो ।

सरकारले निर्धारित गरेको कोरोना स्वास्थ्य मापदण्डको जसपाले ठाडै उल्लंघन गरी जनताको स्वास्थ्य सँग खेलवाड गरेको मोर्चाको ठहर छ ।

‘पर्सा जिल्ला त्यसै पनि कोरोना संक्रमणबाट गम्भीर रुपले प्रभावित भएको जिल्ला रहेको हो । जसपा पार्टीले जनता प्रति अनुत्तरदायी व्यवहार गरेको, पार्टीले सार्वजनिक सुरक्षालाई जोखिममा पारेको प्रष्ट छ ।’ जारि विज्ञप्तिमा भनिएको छ ।

संयोजक गिरीले ठूला नेताहरुको गैरकानुनी व्यवहार समक्ष जिल्ला प्रशासन र प्रमुख जिल्ला अधिकारी नीरीहता प्रकट गरेको पनि बताएकी छन् । उनले संघीय सरकारको ध्यानाकर्षण गराउँदै यस सम्बन्धमा सरकार सँग आवश्यक छानबीन र कारवाहीको माग गरेकी छन् ।

प्रतिक्रिया