‘खाद्यान्नको विनाकारण मूल्य वृद्धि गरेको भेट्यौँ भने सिधै जेल हाल्छौँ’

काठमाडौं । कोरोनाको कारणले रोजगारी गुमाएर बसेका सर्वसाधारणहरु के गरेर आफ्नो जीविकोपार्जन गर्ने भनेर सोचिरहेका छन् । सोही समयमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि हुँदा उपभोक्ता थप मारमा परेका छन् ।

७ महिना लामो बन्दपछि खुलेको बजारमा सामान्य चहलपहल शुरु हुन थालेसँगै खाद्यान्न व्यापारीले आफूखुशी मूल्य वृद्धि गर्न थालेका छन् ।

कोरोनाका कारण रोजगार गुमाएका उपभोक्ताले दशैंको मुखैमा महँगीको मार खेप्नु परेको छ । दैनिक उपभोग्य वस्तु दाल, गेडागुडी र तेललगायतको मूल्य बढेपछि उपभोक्तालाई महँगीले ढाँड सेक्न थालेको हो ।

नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले मकालु खबरसँगको कुराकानीका क्रममा खाद्यान्नका ठूला व्यापारीले मनपरी तरिकाले मूल्य वृद्धि गरेको भनेर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई जानकारी दिएको बताए ।

उनले भने–‘लकडाउन खुलेर अवस्था सामान्य हुन थालेपछि ठूला व्यापारीहरुले बजारमा जति मूल्य वृद्धि गरे पनि दैनिक उपभोग्य वस्तुको बिक्री हुने भनेर मूल्य वृद्धि गरेका हुन् । पछिल्ला दुई महिनामा दाल प्रतिकिलो १५ रुपियाँसम्म, हरियो केराउ प्रतिकेजी २० रुपियाँ र तेल प्रतिलिटरमै १६ रुपियाँभन्दा धेरैले महँगिएको छ । सामान बजारमा हुँदाहुँदै पनि थोक बजारमा विनाकारण मूल्य वृद्धि भएकोमा अचम्म लगेको छ,’

‘चाडपर्वको मुखैमा मूल्य बढ्नुपर्ने कारण नै छैन । बजारमा दैनिक उपभोग्य वस्तुको कुनै समस्या पनि छैन । यसको कारण बजार अनुगमन गर्ने निकायले खोज्नुपर्यो उनले,’ उनले थपेका छन् ।

श्रेष्ठका अनुसार केही समय पहिला १ हजार ५ सय ८० रुपियाँमा पाइने एक कार्टोन सनफ्लावर तेलको मूल्य अहिले १ हजार ६ सय २० रुपियाँ नाघेको छ । अहिले होलसेलमा नै १ सय ६३ रुपियाँ नाघेको छ । मासको दाल प्रतिकेजी १ सय ६० बाट मूल्य वृद्धि भई १७० रुपियाँ पुगेको बताए ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी रविन्द्र आचार्यले बजारमा खाद्यान्नको मूल्य बढ्ने आधार नै नभएकोले विभागले कारबाहीको लागि अगाडी बढेको बताए ।

उनले भनेका छन्, ‘हामीले बजारमा अनुगमन गरिरहेका छौं । बजारमा विनाकारण मूल्य वृद्धि भएको प्रमाण भेटिए सिधै जेल हाल्छौं ।’

प्रतिक्रिया