उपत्यकाका अस्पताललाई सरकारको निर्देशन– आकस्मिक बाहेकका शल्यक्रिया नगर्नू

काठमाडौं । आकस्मिक बाहकेका सबै शल्यक्रिया हाललाई स्थगित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य तथा काठमाडौं उपत्यकाका सबै अस्पतालहरूलाई निर्देशन दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले साेमबारकाे प्रेस ब्रिफिङका क्रममा आइतबार मन्त्रालयमा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस) को बैठकले यस्तो निर्णय गरेको जानकारी गराएका हुन् । उनले संक्रमणको अवस्था नियन्त्रण हुँदै गएपछि मात्र अस्पतालहरूलाई नियमित शल्यक्रिया गर्न पाउने गरी निर्देशन दिइएको बताए ।
संक्रमण बढ्दै गइरहेकाे याे अवस्थामा नियमित शल्यक्रिया हाललाई स्थगित गर्दा कोरोना संक्रमणका बिरामीहरूलाई अस्पतालमा बेड तथा आएसियू र भेन्टिलेटर उपलब्धतामा सघाउ पुग्ने उनकाे तर्क छ ।
यस्तै मन्त्रालयले यात्रा गर्नुपूर्व ७ दिन अनिवार्य क्वारेन्टिनमा बस्न र कोरोनाको लक्षण देखिए यात्रा स्थगित गर्न पनि निर्देशन दिएको प्रवक्ता गाैतमले जानकारी दिए । उनले अब अस्पतालले स्वास्थ्य मन्त्रालयकाे स्वीकृतिमा अब होटलसँग सहकार्य गरेर आइसोलेसन चलाउन सक्ने पनि बताए । संक्रमित बाहेकका मानिसलाई भने राख्न नपाइने उनकाे भनाइ छ ।









