बाबुराम भट्टराईसँग विवेकशीलको आग्रह : ‘९ अर्ब भ्रष्टाचारको प्रमाण अख्तियारलाई दिनुस्’

काठमाडौं । विवेकशील नेपाली दलले जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ९ अर्बको भ्रष्टाचारको प्रमाण अख्तियारलाई दिन आग्रह गरेको छ ।

बूढीगण्डकी जलविद्युत आयोजनामा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण अख्तियारलाई दिन आग्रह गरेको हो ।

नेपाली दलका नेता प्रदेश सांसद रमेश पौड्यालले विज्ञप्ति निकाल्दै भनेका छन्–‘आफूसँग भएको त्यसको प्रमाणहरु अख्तियारमा बुझाएर अनुसन्धान कार्यमा सहयोग गर्न अनुरोध गर्दछौं ।’

केही दिनपहिले गृहजिल्ला गोरखा पुगेका भट्टराईले बूढीगण्डकीमा तीन नेता मिलेर ९ अर्ब भ्रष्टाचार गरेको आरोप लगाएका थिए । यसै सन्दर्भमा विवेकशील नेपाली दलले अविलम्ब छानबिन अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रहसमेत गरेको छ ।

यसअघि हिजै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ९ अर्बको आरोप पुष्टि गर्न भट्टराईलाई चुनौती दिइसकेका छन् ।

प्रतिक्रिया