कोरोना संक्रमणबाट भरतपुर-२० का वडाध्यक्षको मृत्यु

चितवन । कोरोना भाइरस संक्रमणका कारण चितवनमा एक जना जनप्रतिनिधिको मृत्यु भएको छ ।

भरतपुर २० का वडाध्यक्षको कोरोना संक्रमणका कारण मृत्यु भएको महानगरका प्रवक्ता अरुण पिडित भण्डारीले बताए ।

भरतपुर अस्पतालमा उपचाररत ६९ वर्षीय उनको आइतबार बिहान ११:३० बजे मृत्यु भएको हो ।

भरतपुर अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा भरतपुर २० निवासी ६९ वर्षीय पुरुषको मृत्यु भएको उल्लेख छ । भरतपुर महानगर प्रवक्ता भण्डारीले ती मृतक २० का वडा अध्यक्ष रहेको पुष्टि गरेका हुन् ।

मृतक वडाध्यक्ष असोज १६ गते कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका थिए । तर ज्वरो र श्वासप्रश्वासकाे समस्या देखिएपछि असोज २३ गते अस्पतालको कोभिड आइसियुमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनकाे मृत्यु भएकाे हाे ।

प्रतिक्रिया