कोरोना त्रास, मुखमा दुई’टा मास्क : कति सुरक्षित ?

  • सृष्टि नेपाल (द्वारिका)

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन सुरु भएको झण्डैँ एक वर्ष पुग्न लागिसक्दा पनि अझैसम्म संक्रमणदर र मृत्युदर घटेकाे छैन । अहिलेसम्म विश्वभर संक्रमितको संख्या ३ करोड ७४ लाख नाघेको छ भने १० लाख ७७ हजारभन्दा बढीको मृत्यु भएको छ ।

नेपालमा पनि दिनहुँजसो संक्रमणदर बढिरहेको छ । काठमाडौं उपत्यका कोरोनाको ‘हटस्पट’ बनेको छ । पछिल्लो हप्तादिनमा नेपालमा उच्च संक्रमित थपिने क्रम जारी छ । हिजो (शनिबार) मात्रै ५ हजार ८ संक्रमित थपिए, जसमध्ये काठमाडौंका मात्रै २ हजार ६७२ छन् ।

तीव्र रुपमा फैलिएको कोरोना संक्रमणले विश्वमा नौलो अभ्यासको सुरुवात गराएको छ । भौतिक दुरी, सेनिटाइजर, मास्कलाई अनिवार्य बनाइदिएको छ । कोरोना संक्रमण सुरु भएयता अहिले विश्वभरका मानिसको जीवनमा अभिन्न अंग जतिकै बनेको छ मास्क । घरबाट निस्कने समय पर्स चेक गरेजत्तिकै मास्क चेक गर्ने आदत सबैमा परिसकेको छ ।

मास्कले संक्रमणको जोखिम कम गर्ने हुँदा अन्य देशमा जस्तै नेपालमा पनि मास्कको अभ्यास बढेको शहर, बजार निस्कँदा अनुभव गर्न सकिन्छ । संक्रमणको सुरुवाती चरणमा त मास्क नलगाई हिँड्नेलाई प्रहरीले जरिवाना समेत लगाएको थियो । ठाउँठाउँमा मास्क बाँडिन्थ्यो । जुन क्रम अहिले पनि जारी छ । र धेरै मानिसहरु सचेत पनि भइसकेका छन् ।

बालबालिकादेखि वृद्धवृद्धासम्मले मास्कले मुख ढाकेर हिँड्ने गरेका छन् । तर लगाउने तरिका भने फरक ! कोही चिउँडोमुनि लगाउँछन् त कोही हातमा झुड्याउँछन् । कसैले नाक खुल्ला राखेर मुखमात्रै छोप्छन् । कोही भने मुखमा दुई वटा मास्क भिरेर हिँड्छन् !

सहि ढंगले मास्कको प्रयोग नगर्नेलाई त कोरोनाको जोखिम हुन्छ नै, दुई वटा मास्क लगाउने मानिस के एउटा मास्क लगाउने भन्दा सुरक्षित रहन्छन् त ?

दुई वटा मास्क लगाउँदैमा कोरोनाको जोखिम कम हुने भन्ने विषयमा वैज्ञानिक पुष्टि नभएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुन बताउँछन् ।

‘पछिल्लो समय केही मानिसहरुले दुई वटा मास्क लगाएको देखेको छु । दुई वटा लगाउँदा अलिकति सुरक्षित भइन्छ कि भन्ने मानिसहरुको मानसिकता हुन सक्छ ! तर दुई वटा मास्क लगाउँदैमा संक्रमणको जोखिम कम हुने भन्ने वैज्ञानिक पुष्टि छैन’, मकालु खबरले राखेको जिज्ञासामा डा. पुनले भने, ‘अहिलेसम्म जति प्रयोगात्मक अध्ययन/अनुसन्धान भएका छन्, त्यो एउटा मास्कमै भएका छन् ।’

अहिले बजारमा थरीथरीका मास्कहरु आइरहेका छन् । कुन मास्क उपयुक्त हुन्छ त संक्रमणको जोखिमबाट बच्न ? ‘अहिले मास्कको अभाव छ । यस्तो अवस्थामा कस्तो मास्क लगाउने भन्दा पनि कसरी लगाउने भन्नेमा फरक पर्छ । मास्कको प्रयोगबारे ध्यान दिनुपर्छ’, डा. पुनले भने ।

यस्तै एउटा मास्क कति दिनसम्म प्रयोग गर्न सकिन्छ भन्नेबारे धेरैले ध्यान दिएको पाइँदैन । कतिले त सर्जिकल मास्क समेत धोएर लगाउने गरेका छन् भने कतिले हप्तौँसम्म लगाएको पाइन्छ । उत्पादकको गाइडलाइन अनुसार मास्कको प्रयोग गर्नुपर्ने डा. पुनको सुझाव छ ।

‘सामान्यतया सर्जिकल, मेडिकल मास्क भनेको युज एण्ड थ्रो भन्ने कुराहरु आएका छन् । एन–९५ मास्कहरु स्वास्थ्यकर्मीले बढी प्रयोग गरेको पाइन्छ । यसलाई अलि दिनसम्म प्रयोग गर्न सकिन्छ’, उनी भन्छन्, ‘कतिपय कम्पनीले रि–युज गर्न मिल्ने पनि भनेका हुन्छन् । तर त्यसको स्ट्रक्चरहरु हुन्छ, त्यो हामीले विचार पुर्याउनुपर्ने हुन्छ ।’

नेपालीहरुले कपडाको मास्क बढी प्रयोग गर्ने गरेको पाइन्छ । कपडाको मास्क दिनहुँ धोएर, घाममा राम्रोसँग सुकाएर प्रयोग गर्न सकिने उनको डा. पुनको भनाइ छ ।

युनिसेफका अनुसार, कपडाको मास्क लगाउने तरिका :

१. मिचिमिचि कम्तिमा २० सेकेण्ड साबुन-पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने ।

२. मास्क च्यातिएको छ कि छैन वा सफा छ कि छैन हेर्न ।

३. मास्क लगाउँदा डोरीमा समाई अनुहारमा टम्म मिल्ने गरी लगाउने ।

४. नाक, मुख र च्युँडो ढाकिने गरी लगाउने ।

५. सकभर मास्कलाई हातले नछुने ।

६. डोरी मात्र समाई मास्क फुकाल्ने ।

७. कपडाको मास्कलाई फेरी प्रयोग गर्न मिल्छ । फुकालेको मास्कलाई सफा र सुख्खा हुनेगरी राख्ने ।

८. मास्क फुकालेपछि साबुन पानीले मिचिमिचि कम्तिमा २० सेकेण्ड हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने ।

९. प्रयोग गरेको मास्कलाई हरेक दिन साबुन पानीले धुने र घाममा सुकाउने ।

मेडिकल मास्क

सर्जिकल मास्क भनेर पनि चिनिने मेडिकल मास्क नबुनिएका कपडाबाट बनेको हुन्छ । यी सामान्यतया तीन तहका हुन्छन् र स्वास्थ्यकर्मीहरूको लागि डिजाइन गरिएका हुन्छन् ।

विश्वव्यापी महामारीको कारण मेडिकल मास्कहरुको आपूर्ति कम भइरहेको छ । त्यसैल केही समूहले मात्र यस्तो प्रकारको मास्क लगाउनु पर्दछ भनेर विश्व स्वास्थ्य संगठनले सिफारिस गर्दछ । यसमा स्वास्थ्यकर्मीहरू, ६० वर्ष भन्दा बढि उमेरका, अन्तर्निहित स्वास्थ्य समस्या भएका, कोभिड १९ भएका व्यक्तिको हेरचाह गर्ने र कोभिड १९ को लक्षण भएका वा पुष्टि भएका वा संक्रमित व्यक्तिहरू पर्दछन् ।

यसको अर्थ अन्तर्निहित स्वास्थ्य समस्या भएको र कोभिड १९ को लक्षणहरू वा पुष्टि भएको, वा जो कोही बिरामीहरुको नजिक छन् भने मात्रै बालबालिकाले यस प्रकारको मास्क लगाउनु पदर्छ ।

मेडिकल मास्कहरू धुन योग्य वा पुनः प्रयोग गर्न योग्य हुँदैनन् र आठ घण्टाको निरन्तर प्रयोगपछि सुरक्षित रुपमा फाल्नुपर्दछ।

मास्कको विषयमाः गर्न नहुने

  • मास्कलाई नाकमुनि नतान्नुहोस् ।
  • आफ्नो चिउँडो खुला नछोड्नुहोस् ।
  • आफ्नो चिउँडो मुनि मास्क नतान्नुहोस् ।
  • माक्स लगाउँदा त्यसलाई नछुनुहोस् ।
  • खुकुलो मास्क नलगाउनुहोस् ।
  • फोहोर, बिग्रिएको वा भिजेको मास्क नलगाउनुहोस् ।
प्रतिक्रिया