‘सत्याग्रही मार्न खोज्ने सत्ता धेरै दिन टिक्दैन’

काठमाडौं । विगत २७ दिनदेखि अनशनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौंको माइतीघर मण्डलामा बृहत् प्रदर्शन भएको छ ।

६ बुँदे माग राखेर गत २९ भदौदेखि जुम्लाबाट अनशन शुरु गरेका डा. केसीको स्वास्थ्य स्थिति बिग्रिँदै गएको अवस्थामा सरकारले वार्ता प्रक्रिया रोकेको भन्दै देशभर दबाबमूलक कार्यक्रम जारी राख्न डा. केसीको तर्फबाट वार्ता गर्न गठित टोलीले आग्रह गरेको छ ।

यसैबीच मण्डलामा पनि प्रदर्शन भएको हो । प्रदर्शनका क्रममा ‘सत्याग्रही मार्न खोज्ने सत्ता धेरै दिन टिक्दैन, माफियाहरुको समाजवाद, यति ओम्नी मार्सी भात, कर्णाली विज्ञान प्रतिष्ठानमा एमबीबीएस तत्काल शुरु गर’लगायतका नाराअङ्कित पम्पलेटहरु देखाइएका थिए ।

गत बिहीबार डा. केसीको अनशनको २५औं दिन पुग्दा वार्ता गर्न सहमत भएको सरकारले अझैसम्म वार्ता प्रक्रिया टुङ्ग्याएको छैन । डा. केसीको तर्फबाट वार्ता गर्न गठित टोलीले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलकै कारण वार्ता प्रक्रिया नटुङ्गिएको आरोप लगाएको छ ।

टोलीले केहीबेरअघि विज्ञप्ति नै निकाल्दै सरकारको नियत डा. केसीलाई मार्ने रहेको बताएको छ भने मुलुकभर दबाबमूलक कार्यक्रम जारी राख्नसमेत भनेको छ ।

प्रतिक्रिया