सरकारका प्रवक्ताको दृढता–’डा. केसी र सरकारबीचको वार्ता कुनै पनि हालतमा सफल पार्नुपर्छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले अनशनरत डा. गोविन्द केसी र सरकारबीच भइरहेको वार्ता कुनै पनि हालतमा सफल बनाउनुपर्ने बताएका छन् ।

शनिबार (आज) सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो कुरा राखेका प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन् । यस्तै उनले डा. केसीको जीवनरक्षा गर्न र सम्बन्धित सबै संवेदनशील बन्न आग्रहसमेत गरेका छन् ।

गत २९ भदौदेखि जुम्लाबाट अनशन शुरु गरेका डा. केसीको अनशनको आज २७ औं दिन पुगेको छ । विभिन्न ६ बुँदे माग राख्दै अनशन थालेका डा. केसीको अवस्था गम्भीर गइरहेको उनको स्वास्थ्य सेवामा खटिरहेका स्वास्थ्यकर्मीहरुले बताउँदै आएका छन् ।

डा. केसीको अनशनको २५ औं दिनमा आएर सरकार वार्ता गर्न बसे पनि अहिलेसम्म वार्ता प्रक्रिया नटुङ्गिँदा डा. केसीको अनशन लम्बिएको छ । गत बिहीबार सिंहदरबारस्थित दुई पक्षबीच वार्ता भएको थियो । उक्त वार्ताबाट मस्यौदा तयार पारी बालुवाटार पठाइएको थियो ।

त्यसपछि मस्यौदा आएपछि वार्ता प्रक्रियालाई निरन्तरता दिने भनिए पनि पुनः वार्ता हुन सकेको छैन । अहिले आएर वार्ता प्रक्रियाा नटुङ्गिनुमा शिक्षामन्त्री गिरिराजमणिकै हात रहेको आरोप लागेको छ ।

प्रतिक्रिया