मकालु खबर दिनभर: यी हुन् आजका १० प्रमुख समाचारहरु (भिडिओसहित)

डा. केसीको स्वास्थ्य थप जटिल बन्दै, सरकारले बेवास्ता गरेको आरोप
विगत २६ दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य थप जटिल बनेको छ । ६ बुँदे माग राखेर गत २९ भदौदेखि अनशन शुरु गरेका डा.केसीको श्वासप्रश्वासमा समस्या देखिएको हो ।
डा. केसीको स्वास्थ्य अवस्था निगरानी गरिरहेको त्रिवि शिक्षण अस्पतालको टोलीले डा. केसीको स्वासप्रश्वासमा थप कठिनाइ भएको जानकारी दिएको हो ।
यता केसीको अनशन २५ दिन पुगेपछि वार्ता गर्न सहमत भएको सरकारी पक्षले भने अटेर गरेको आरोप लागेको छ । केसीका सहयोगी प्रितम सुवेदीका अनुसार सरकार पक्षले आज वार्ता गर्ने भने पनि यो समाचार तयार पार्दासम्ममा वार्ता शुरु नभएको बताए ।
कोरोना संक्रमणले आर्थिक वृद्धिदरमा गम्भीर धक्का
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणले आर्थिक वृद्धिदरमा गम्भीर धक्का दिएको बताएका छन् ।
गैरआवसीय नेपाली संघको विश्व सम्मेलनलाई सम्बोधन गर्दै ओलीले नेपालको आर्थिक वृद्धिदर शून्यमा भने नपुगिसकेको बताएका हुन् ।
विकसित देशको तुलनामा नेपालको वृद्धिदरमा कमि नआएको समेत उनले बताएका छन् । कोरोना संक्रमणलाई नियन्त्रण गरेरै छाड्ने दृढता देखाएका उनले यसले दीर्घकालीन असर भने नगर्ने बताए ।
कोरोना अपडेटः १० जनाको मृत्यु, संक्रमितको संख्या १ लाख उकालो
गत २४ घण्टामा कोभिड १९ सँग सम्बन्धित कारणले १० जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोभिड १९ बाट मृत्यु भएकाको सङ्ख्या ६०० पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बिहीबारको राष्ट्रिय अद्यावधिक विवरणका अनुसार गत २४ घण्टामा १ महिला र ९ पुरुषको मृत्यु भएको जनाएको छ ।
यस्तै गत २४ घण्टामा थप २ हजार ५९ जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार ६ सय १६ जना डिस्चार्ज भएका छन् । आजको थप अपडेटसँगै संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको छ ।
मन्त्री नियुक्तिबारे ओली–प्रचण्डबीच छलफल
रिक्त मन्त्रालयमा मन्त्री नियुक्त गर्नेबारे केहि दिनयता दैनिक छलफल गरिरहेका नेकपाका दुई अध्यक्षबीच आज पनि फेरि छलफल भएको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको हो ।
भेटमा पार्टी एकीकरणको बाँकी काम सम्पन्न गर्ने, रिक्त ३ मन्त्रालयमा मन्त्री नियुक्ति गर्ने विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । दुई अध्यक्षले मन्त्री नियुक्तिका विषयमा केहि दिनदेखि निरन्तर छलफल गरे पनि अझै टुंगो लगाउन सकेका छैनन् ।
कोरोना पोजेटिभ व्यक्तिहरु बाहिर हिँडडुल गरे ६ महिनासम्म जेल सजाय हुने
सरकारले कोरोना पोजेटिभ भएका व्यक्तिहरु बाहिर हिँडडुल गरेको पाइए ६ महिनासम्म जेल सजाय हुने चेतावनी दिएको छ ।
संक्रामक रोग ऐन अनुसार पोजेटिभ देखिएमा ६ महिनाको जेल सजाय हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
कारवाहीका लागि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई सूचना दिइएकोसमेत उनले बताए ।
दशैं तिहारमा भिडभाड नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।
लुम्बिनी प्रदेश: स्थायी राजधानीका संरचना निर्माणको जिम्मा पूर्वाधार विकास प्राधिकरणलाई
लुम्बिनी प्रदेशको राजधानीमा निर्माण हुने सम्पूर्ण भौतिक संरचनाको निर्माण प्रदेश पूर्वाधार विकास प्राधिकरणले गर्ने भएको छ । मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा रहने प्राधिकरणले सम्पूर्ण प्रदेश राजधानीको भौतिक संरचनाको निर्माण गर्ने जानकारी दिइएको छ ।
प्राधिकरण यसअघि नै स्थापना भइसकेकाले तत्कालै काम सुरु गर्ने तयारी गरिएको छ । राजधानीका भौतिक संरचना निर्माणका साथै प्राधिकरणले प्रदेशमा तीन मेगासिटी बनाउने कामसमेत गर्ने नेकपा सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।
प्रदेश प्राधिकरणले प्रदेश राजधानीको विस्तृत परियोजना प्रतिवेदन तयार गरी ग्लोबल टेन्डर गर्ने तयारी गरेको छ ।
नियमावली नबनाई गलत नियतबाट जग्गा कित्ताकाट गरियोः संसदीय समिति
संसदीय समितिले भू–उपयोग ऐन बनेको लामो समयसम्म पनि नियमावली नबनाई जग्गाको कित्ताकाट फुकुवा गरिएकोप्रति प्रश्न उठाएको छ।
ऐन बनेको दुई वर्ष बितिसक्दा समेत नियमावली नबनाई कित्ताकाट फुकुवा गर्ने निर्णय संविधान र ऐन विपरित भएको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिको ठहर छ ।
संविधान र भू–उपयोग ऐन विपरितको काम भएको भन्दै भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल मन्त्रालयका सचिवलाई छलफलका लागि बोलाउने निर्णय पनि समितिले गरेको छ।
सांसद राधेश्याम अधिकारीले निर्देशिका बनाउनका लागि नियमावली बनाउनुपूर्व शर्त भएपनि त्यसो हुन नसकेकोले गलत भएको बताएका छन् ।
दक्षिण कोरियाका १५ लाख श्रमिकले पाएनन् तलब
नेपालीहरूका लागि रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले पारिश्रमिक नपाएको तथ्यांक सार्वजनिक भएको छ ।
त्यहाँको श्रम मन्त्रालयको तथ्याङ्कानुसार सन् २०१६ देखि २०१९ सम्म १५ लाखभन्दा धेरै कामदारले नपाएको कूल तलब रकम ७.१७ ट्रिलियन वोन पुगेको छ ।
सन् २०१६ मा मात्र तीन लाख २५ हजार ४३० जनाले नपाएको ज्याला १.४३ ट्रिलियन पुगेको थियो भने सन् २०१९ मा तीन लाख ४४ हजार ९७७ जनाले पाउनुपर्ने १.७२ ट्रिलियन वोन पुगेको छ ।
यसरी ज्याला नपाउने कामदारमा सबैभन्दा धेरै उत्पादनमूलक कम्पनीमा छन् भने दोस्रो स्थानमा निर्माण, खुद्रा व्यापार, होटल, रेस्टुराँमा छन् ।
आइपिएलः पन्जाबमाथि हैदराबादको सहज जित
इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइजर्स हैदराबादले किंग्स इलेभेन पन्जाबमाथि सहज जित हात पारेको छ ।
दुबईमा गएराति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ६९ रनले पराजित गर्दै हैदराबादले तेस्रो जित निकालेको हो ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको पन्जाब १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३२ रनमा समेटियो ।
पञ्जाबका लागि निकोलस पुरनले सर्बाधिक ३७ बलमा ७७ रन बनाए भने अन्य ब्याट्सम्यानले उनलाई साथ नदिँदा पञ्जाब पराजित भएको हो ।
यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमलाई प्रदान गर्ने निर्णय
सन् २०२० को नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमलाई दिने घोषणा गरिएको छ ।
विश्वमा भोकमरी नियन्त्रण गर्न काम गरेकाले विश्व खाद्य कार्यक्रमलाई यस वर्षको नोबेल शान्ति पुरस्कार दिने निर्णय लिइएको पुरस्कार दिने संस्थाले जनाएको छ ।
द्वन्द्व अन्त्य गर्न, शान्ति स्थापना गर्न, राष्ट्रहरुबीचमा सम्बन्ध सुधार्न भूमिका खेल्ने व्यक्ति तथा संस्थाहरुलाई प्रदान गरिने यस सम्मानित पुरस्कार यस वर्षका लागि भने विश्व खाद्य कार्यक्रमका लागि दिइने भएको हो ।








