सरकारले गर्ला डा. केसीसँग सार्थक वार्ता ?

  • धनबल राई

काठमाडौं । चिकित्सा शिक्षा सुधारको मागसँगै अन्य थुप्रै जनमुखी मागहरु राखेर विगत २५ दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले टोली गठन गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा गठित टोलीले बिहीबार (आज) बिहान १०:३०बजेबाट वार्ता शुरु गरेको छ ।

यद्यपि फेरि पनि डा. केसीसँग सार्थक वार्ता नहुने कतिपयले आशंका व्यक्त गरेका छन् । विगतका नजिरलाई नियाल्ने हो भने पनि सरकारले डा. केसीलाई अनशनबाट उठाउने काम मात्रै गर्दै आइरहेको जस्तो देखिन्छ ।

विगतका दर्जनौं अनशनका क्रममा भएका सहमति/सम्झौताहरु कहीँ पनि कार्यान्वयन भएको नदेखिएको नागरिक समाजका अगुवा तथा सरोकारवालाहरुको भनाइ छ । डा. केसीले उठाएका मुद्दा र गरेका मागहरु सबै पूरा भइसकेको दावी गरेको सरकारले २५ औं दिनसम्म केही पनि गरेन ।

भइरहेको वार्ता पनि सार्थक नहुने धेरैको बुझाइ छ । डा. केसीका सहयोगी प्रितम सुवेदी हालको लागि सकारात्मक भए पनि विगतका नजिरसँग डर लाग्ने बताउँछन् । शिक्षा मन्त्रालयमा वार्ता भइरहँदा मकालु खबरले राखेको जिज्ञासामा सुवेदीले भनेका छन्, “अहिले वार्ता भइरहेको छ । शिक्षा मन्त्रालयमा वार्ता भइरहेको हो । अहिलेका लागि हामी सकारात्मक छौं । यद्यपि पनि विगतको सहमति सम्झौतासँग भने हामीलाई अझै आशंका नै छ । विगतमा त्यतिका धेरै सम्झौताहरु भएका छन् । त्यो पूरा गर्ने बाटोमा सरकार देखिँदैन ।”

६ बुँदे मागहरु अघि सारेर गत २९ भदौबाट आमरण अनशनमा बस्दै आएका डा. केसीको स्वास्थ्य स्थिति झनझनै बिग्रिँदै गएको उनको स्वास्थ्य सेवामा खटिएका चिकित्सकहरुले बताइरहेका छन् । तर, यतिका दिनसम्म सरकारले डा. केसीलाई बेवास्ता गरेर निकम्मा बसिरहेको साझा पार्टीका प्रभावशाली नेता तथा अभियन्ता प्रकाशचन्द्र परियार बताउँछन् ।

सबैभन्दा पहिले सरकारले वार्ता गर्नै ढिलो गरेको औंल्याएका नेता परियारले डा. केसीको यो अन्तिम अनशन होस् भन्ने शुभेक्षासमेत पार्टीको तर्फबाट दिएका छन् ।

मकालु खबरसँगको कुराकानीको क्रममा नेता परियारले भनेका छन्, ‘सबैभन्दा पहिले त सरकारले डा. केसीसँग वार्ता गर्नै ढिलो गर्यो । सरकारको कपटपूर्ण नीतिका कारण डाक्टरसा’बको स्वास्थ्य स्थिति जटिल बन्दै गएको छ ।’

यस्तै नेता परियारले डा. केसीको माग पूरा गर भनेर खबरदारी गर्नुपर्ने बेलामा जीवन रक्षा गर भन्नु दुःखद् रहेको बताएका छन् । उनले भनेका छन्, ‘माग पूरा गर्नुपर्ने अवस्थामा जीवन रक्षाको लागि सरकारको ध्यानाकर्षण गराउनुपर्ने अवस्था आयो । यो विडम्बना हो । डाक्टरसा’बको जायज मागहरुलाई पूरा गर भनेर सरकारलाई झकझाक्याउनु हाम्रो दायित्व हो र हामीले गर्यौं । तर, सरकारले डाक्टरसा’बको स्वास्थ्य अत्यन्तै जटिल बनिसक्दा मात्रै वार्ता गर्यो । यद्यपि पनि अहिलेको लागि यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।’

विगतको सहमति सम्झौताबारे मकालु खबरले राखेको जिज्ञासामा नेता परियार भन्छन्–‘दुःख लाग्छ । यो विडम्बना हो । विगतका अधिकांश सम्झौताहरु पूरा भएका छैनन् । हाम्रो पार्टीको शुभेक्षा छ, डा. केसीको यो अनशन अन्तिम होस् ।’

आज विभिन्न अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानहरुमा कार्यरत चिकित्सकहरु डा. केसीको मागलाई ऐक्यबद्धता जनाउँदै धर्नामा बसेका छन् । यसैबीच नेपाली कांग्रेसका सांसद तथा युवा नेता गगनकुमार थापाले चिकित्सकहरुको ऐक्यबद्धतामा आफ्नो पनि ऐक्यबद्धता रहेको बताए ।

मकालु खबरसँग कुराकानी गर्दै नेता थापाले यस्तो ‘हेल्थ क्राइसिस’को बेला दुवै पक्षले सार्थक वार्ता गर्नुपर्ने बताए । ‘अहिले यत्रो हेल्थ क्राइसिस छ । दुवै पक्षको वार्ता आजै टुङ्गियोस् । डा. केसीले राखेका मागहरु जायज हुन् । सरकारी पक्षबाट यसको सम्बोधन हुनैपर्छ ।’ नेता थापाले भनेका छन्, ‘विगतको सम्झौताको सन्दर्भमा पनि सरकारले पुनर्विचार गर्नैपर्छ ।’

 

प्रतिक्रिया