‘डा. केसीलाई सरकारले देखाएको व्यवहार राणा शासनको जस्तो’

काठमाडौं । कांग्रेस नेता धनराज गुरुङले डा. गोविन्द केसीको जीवनको सुरक्षाका प्रति राज्य गम्भिर नभएको बताएका छन् । त्रिवि शिक्षण अस्पतालमा २५ औं दिनदेखि आमरण अनसनमा बसेका डा. केसीप्रति राज्यले देखाएको व्यवहार राणा शासनको जस्तो भएको गुरुङको भनाई छ ।
उनले राणा शासनमा श्री ३ मोहन शमसेरले वीपी कोइराला आमरण अनसनमा बस्दा वीपीका आमालाई भनेको कुरा सम्झँदै भनेका छन्–‘विपी कोइराला आमरण अनशन बस्दा श्री ३ मोहन शमशेर जबराले विपीकी आमालाई भनेका थिए, ‘‘तेरो छोरोले माफी माग्यो भने रिहा गरि दिन्छु । माफी मागेन भने तेरो छोरो जेलमै मर्छ । डा.गोबिन्द केसीकी आमालाई गणतन्त्रका महाराजहरुबाट यस्तै हुकुम नबक्सिए पनि ब्यवहारमा उस्तै देखियो ।’’

चिकित्सा शिक्षाको सुधारको माग गर्दै १९ औं पटक आमरण अनसनमा बसेका डा. केसीको स्वास्थ्यवस्था दिनदिनै कमजोर बन्दै गएको छ ।
हिजो मात्रै सरकारले शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । उक्त टोलीले आज अपरान्ह ४ बजे डा. केसीका प्रतिनिधिहरुसँग वार्ता गर्ने भनिएको छ । टोलीमा स्वास्थ्य मन्त्रालयका सहसचिव गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य छन् ।
यता डा. केसीका तर्फबाट सरकारले वार्ता टोली घोषणा गरेलगत्तै डा. केसी पक्षले पनि डा. जीवन क्षेत्रीको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो । वार्ता टोलीमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, पूर्वअध्यक्ष डा. अञ्जनीकुमार झा र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन् ।
डा. केसीका पक्षका टोलीले वार्तामा उधारो सहमति नगर्ने गरी वार्ता चाहेका छन् । सरकारी पक्षले भने पहिला डा. केसीलाई अनसन स्थगित गर्न लगाउने, त्यसपछि तत्कालै संवोधन हुने मागहरु कार्यान्वयनमा लैजाने र नीतिगत विषयहरु पछि समाधान गर्ने रणनीति अपनाएका छन् ।
डा. केसीले गत २९ भदौदेखि जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई आठौं दिनमा काठमाडौं ल्याइएको थियो । डा. केसीको जीवन रक्षाको माग गर्दै राजनीतिक कर्मी, प्रमुख प्रतिपक्षी कांग्रेस, पूर्वप्रधानमन्त्रीहरु, चिकित्सक, स्वास्थ्यकर्मी र नागरिकस्तरबाट सरकारलाई चर्को दवाव दिइएपछि वार्ताटोली गठन गरिएको थियो ।









