विश्वमा संक्रमितको संख्या ३ करोड ६३ लाख नाघ्यो, ब्राजिलमा ज्यान गुमाउनेको संख्या डेढ लाख नजिक

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या ३ करोड ६३ लाख नाघेको छ भने १० लाख ५९ हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ३ करोड ६३ लाख ८१ जार १८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १० लाख ५९ हजार ९९६जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म २ करोड ७४ लाख २ हजार ४५ जना कोरोना मुक्त भएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख १६ हजार ७८४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ७७ लाख ७६ हजार २२४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४५ हजार ७१५ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ९३२ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५ हजार ५५४ पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ९६३ जनाले ज्यान गुमाएका छन् । २४ घण्टामा ७८ हजार ८०९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ६८ लाख ३२ हजार ९८८ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ५० लाख २ हजार ३५७ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७३३ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ४८ हजार ३०४ पुगेको छ ।

विश्वभरको कोरोना अपडेट हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :- कोरोना अपडेट
प्रतिक्रिया