युवराज खतिवडासहित प्रस्तावित तीन राजदूतविरुद्ध उजुरीको आह्वान

काठमाडौं । संघीय संसदको संसदीय सुनुवाई समितिले प्रस्तावित तीन राजदूतविरुद्ध उजुरीको आह्वान गरेको छ । समितिको बुधबार (आज) बसेको बैठकले युवराज खतिवडासहित लोकदर्शन रेग्मी र निर्मलकुमार विश्वकर्माविरुद्ध उजुरीको आह्वान गरेको हो ।

उनीहरुको राष्ट्रपतिबाट नियुक्ति हुनुअघि संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन हुनुपर्छ । तर, समितिले उनीहरुविरुद्ध उजुरी दिन १० दिनको समय दिएर सूचना प्रकाशित गरेको समिति सचिवालयले जनाएको छ ।

सूचनामा सिफारिस गरिएका व्यक्तिलाई राजदूत नियुक्त गर्न उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आाधार एवं सबुद प्रमाणसहित उजुरी दिन भनिएको छ । उजुरीकर्ताको नाम गोप्य राखिनेसमेत समितिले जनाएको छ ।

सरकारले १६ असोजमा पूर्व अर्थमन्त्री खतिवडा, निवर्तमान मुख्यसचिव रेग्मी र विश्वकर्मालाई क्रमसः अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो ।

यसभन्दा अगाडि तीन राजदूतको विषयलाई लिएर सत्तारुढ दलभित्रै पनि असन्तुष्टि चुलिएको थियो । खासगरी नेकपाकै वरिष्ठ नेताहरुलेसमेत प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका थिए ।

प्रतिक्रिया