अर्बौंको लगानी गर्याैँ सरकारले बुझेन, सरकारलाई दिएको सबै भवन फिर्ता लिन्छौं

काठमाडौं । करिब ३ वर्ष प्रदेश ५ को अस्थाई राजधानी बुटवलमा बस्यो । आजको प्रदेशमा भोटिङमार्फत प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ सार्ने निर्णय भएको छ ।

प्रदेश ५ को राजधानी दाङ स्थायी भएर जाँदा दाङका उद्योगी व्यवसायीहरु सकारात्मक छन् । तर, रुपन्देहीका उद्योगी र व्यवसायीहरु भने सरकार विरुद्ध आक्रोशित भएका छन् ।

बुटवलबाट राजधानी सार्ने भएपछि रुपन्देही जिल्लाका नेकपा समर्थित २ हजार उद्योगी व्यवसायीद्वारा आजै पार्टी परित्यागको घोषणा गरेका छन् ।

रुपन्देही जिल्लाका नेपाल कम्युनिस्ट पार्टी नजिकका करिब दुई हजार उद्योगी व्यवसायीले प्रदेश सरकारले राजधानी सार्न लागेको भन्दै पार्टीको सदस्यता परित्यागको घोषणा गरेका हुन् ।

रुपन्देही व्यापार संघका अध्यक्ष नारायण प्रसाद भण्डारीले निजी क्षेत्रलाई अर्बौ रुपियाँ लगानी गर्न लगाएर अहिले प्रदेश सरकारले राजधानी सार्दा निजी क्षेत्र मारमा परेको बताए ।

उनेले भने–‘हामीले प्रदेश सरकारलाई प्रदेश सभा हल लगायत ६ वटा कार्यालय दिएका छौं, अब त्यो ठाउँ फिर्ता लिने निर्णय गरेका छौं, निजी क्षेत्रले सरकारलाई सहयोग होस् भनेर भवन दिएको थियो, तर सरकारले उल्टै निजी क्षेत्रको भावना बुझेन ।’

उद्योग वाणिज्य संघ बुटवलका अध्यक्ष नारायण भण्डारीले सबै भौतिक संरचना बनिसकेको अवस्थामा प्रदेश सरकारले राजधानी सारेको बताए । ‘अन्य प्रदेशको अस्थायी राजधानीलाई नै स्थायी बनाइयो, तर यहाँ मूख्यमन्त्रीको ठाउँमा नै लगेर राजधानी राख्ने निर्णय भयो । सुरक्षा, हावापानी र भौतिक संरचनाको हिसावले रुपन्देही नै राजधानी राख्न ठिक थियो ।’ भन्डारीले मकालु खबरसँग भने ।

अब लुम्बिनी बासीले ८ वटा जिल्ला राखेर ८ औं प्रदेशका रुपमा रुपन्देही नै राजधानी राख्न माग गर्ने भण्डारीले जिकिर गरे ।
यता दाङ जिल्ला उद्योग वाणिज्य संघ अध्यक्ष नारायण प्रसाद भुसालले प्रदेश सरकारले प्रदेशका सबै जनतालाई पायक पर्ने ठाउँमा राजधानी सार्ने राम्रो निर्णय गरेको बताए ।

उनले भने ‘अन्य प्रदेशभन्दा हाम्रो प्रदेशले फरक तरिकाले सबैलाई पायक पर्ने ठाउँमा राजधानी ल्याएको छ, यसले सबैका लागि राम्रो गरेको छ, यहाँका उद्योगी र व्यापारीहरु प्रदेश सरकारलाई जे परे पनि सहयोग गर्न तयार छन् ।’ बुटवलबाट तत्कालै दाङ राजधानी ल्याउन कुनै समस्या नभएको उनको भनाई छ । ‘१ सय कोठाको टेक्निकल कलेज छ, अहिले त्यहि सरकारको काम कार्वाही अगाडी बढाउन सकिन्छ ।’ भुसालले भने ।

राप्ती नदीको किनारमा रहेको यो बजार अर्घाखाँची, प्यूठान र कपिलवस्तु जिल्लाको संगम स्थल हो । रोल्पा, प्यूठान, दाङ, अर्घाखाँची, गुल्मी जिल्लाको पुरानो नाकाको रुपमा पहिले यो क्षेत्र थियो । विकास निर्माणमा पछि परेको नयाँ क्षेत्रमा प्रदेश राजधानी बनेपछि स्थानीय स्तरमा खुसीयाली छाएको भुसालले बताए ।

प्रतिक्रिया