कम्युनिस्ट पार्टीको सदस्य भएकालाई अमेरिकाले स्थायी बसोबासको अनुमति नदिने

एजेन्सी । अमेरिकामा कम्युनिस्ट पार्टीका सदस्य वा सोसरहका पदमा रहेकालाई रोक लगाइने भएको छ ।

अमेरिकाले आप्रवासी नियम परिवर्तन गर्दै कम्युनिष्ट पार्टीका सदस्य वा सोसरहको पदमा रहेकाहरुले स्थायी बसोवासको अनुमति वा नागरिकता नपाउने नियम बनाएको हो ।

गत शुक्रबार अमेरिकाको यूएस सिटिजन एण्ड इमिग्रेसन सर्भिस (यूएससीआईएस)ले जारी गरेको घोषणा अनुसार अमेरिकाको राष्ट्रिय सुरक्षाको जोखिमलाई ध्यानमा राख्दै यस्तो घोषणा गरिएको यूएससीआईएसले जनाएको छ ।

यूएससीआईएसले सार्वजनिक गरेको विज्ञप्तिमा कुनै पनि कम्युनिष्ट पार्टीका वा निरंकुश पार्टीसँग आबद्ध भएका मानिसले अमेरिकामा आप्रवासीको रुपमा आवेदन दिन सक्दैनन् । यसअघि अमेरिकाको संसद्ले पारित गरेको सुरक्षाको नियम अनुसार नै आप्रवासी नियममा परिवर्तन गरिएको हो ।

पछिल्लो समय अमेरिका र चीन बीचमा तनाव उत्कर्षमा पुगेकाले चीनलाई लक्षित गर्दै अमेरिकाले आप्रवासीको नियममा परिवर्तन गरेको बुझिएको छ । यद्यपि, अमेरिकाले चिनियाँ कम्युनिष्ट पार्टीको नाम भने उल्लेख गरेको छैन । भने, कुन मुलुकका कम्युनिष्टलाई नयाँ नियम लागू हुने हो भन्ने पनि खुलाएको छैन ।

यसअघि अमेरिकामा स्थायी बसोवासको अनुमति वा नागरिकता पाइसकेका मानिसको हकमा यो नियम लागू हुने वा नहुने पनि खुलाइएको छैन ।

प्रतिक्रिया