अनुगमन टाेली पुगेपछि कालिमाटीका व्यापारीकाे भागाभाग

काठमाडौं । सोमबार बिहान कालीमाटी तरकारी बजारको छेउमा भएका २६ वटा माछा पसलमध्ये १५ वटा पसलका व्यापारी सटर तानेर यताउता लागे । महानगरको अनुगमन टोली बजारमा पुगेर फलफुल बजारतर्फबाट माछा पसलको अनुगमन थालेपछि मुल ढोकातर्फका १५ वटा पसलका व्यापारी सटर तानेर भागेका हुन् ।
यस क्रममा कसैले ताल्चा नै लगाउन भ्याए भने कसैले भ्याएनन् । व्यापारीले सटर तान्दा अनुगमन टोली सप्तरी माछा पसलमा भेटिएको ९ किलो सडेको माछा जफत गर्दै थियो । ‘आइस हाल्न बिर्सेछु । माछा त्यति त बिग्रेको छैन । अलिअलि मात्र हो ।’ माछा पसलका सञ्चालक मोहम्मद मज्लुम मियाँ आफूलाई बचाउ गर्दै थिए ।
‘माछाको गुणस्तरमा भन्दा, खरिद बिक्री बिल जारी नगरेकोमा व्यापारी आत्तिएका हुन् । अनुगमनका क्रममा हेरिएका पसलहरुमध्ये धेरैमा दर्ता, नविकरण र खरिद बिक्री बिलमा समस्या देखियो । खरिद बिक्री बिल जारी नहुनु नै मूल्य र गुणस्तरमा उपभोक्ता ठगिनु हो’, महानगरको पशु सेवा विभागका पशु सेवा अधिकृत डम्मरबहादर बमले भने ।
यस्तै काठमाडौं माछा बजार समितिका अध्यक्ष बीरेन्द्रकुमार यादवले कानुन नमान्ने व्यापारीलाई कारवाही गरिने बताए । उनले भने, ‘यो अनुगमनको हामी स्वागत गर्छौं । हाम्रा व्यापारीलाई सुध्रिने समय दिनोस् । कानुन नमान्ने व्यापारीलाई कारवाही गर्न हामी पनि सघाउँछौँ ।’









