साझाको प्रश्न : के डा. केसीलाई मार्न खोजेको ?

काठमाडौं । साझा पार्टीले डा. गोविन्द केसीले २२ दिनदेखि जारी राखेको अनशनका क्रममा उनको स्वास्थ्य खतरनाक रूपमा नाजुक बन्दै गएको अवस्था र त्यसप्रति सरकारको उदासिनताबारे गम्भीर चिन्ता प्रकट गरेकाे छ ।
डा. केसीकाे स्वास्थ्य अवस्था नाजुक बनिरहेकाे अवस्थामा वार्ताका लागि टाेलीसम्म गठन नगरेकाे भन्दै “कुचोले बढार्नु पर्ने कसिङ्गर, हावाले उडाएर लैजाओस्” भनेझैँ रवैया प्रस्तुत गरिरहेको साझाकाे आरोप छ ।
डा. केसीले १९ औँ अनशनमा राखेका कुनचाहिँ माग नाजायज छन् भने सरकारले आम जनतालाई व्याख्या गर्नुपर्ने, होइन भने विश्वमै विरलै भेटिने डा. केसी जस्ता गरिब र निमुखा नागरिकका लागि ज्यानै अर्पण गर्न तयार सत्याग्रहीको माग सरकारले पुरा गर्नुपर्ने साझाकाे भनाइ छ ।
‘डा केसीले २०६९ सालमा पहिलो अनशन सुरु गरेयताका सबैजसो मागहरू सत्तापक्ष र प्रतिपक्षले तथा देशको संविधानले अख्तियार गरेको समाजवादी सोचसँग मिल्दाजुल्दा छन् । तर यिनै दलले पटक पटक सरकारकाे नेतृत्व गर्दा पनि डा. केसी उस्तै माग राखेर फेरी फेरी अनशनमा बस्नुपर्ने स्थिति रहिरहनु विडम्बनाको विषय हो ’, पार्टीका सहप्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सरकारी बेवास्ताले डा. केसीको ज्यान जोखिममा परे त्यसको मूल्य सरकारलाई भारी पर्ने भन्दै सचेत समेत गराएकाे छ ।








