डा. केसीकाे समर्थनमा त्रिवि अस्पतालमा कांग्रेसकाे धर्ना

काठमाडौं । डा. गोविन्द केसीले अनशन सुरु गरेको आज २२ दिन पुगेको छ । उनको अनशनको समर्थन गर्दै नेपाली कांग्रेसले आज त्रिवि शिक्षण अस्पताल परिसरमा २२ मिनेट धर्ना दिएको छ ।

धर्नाका क्रममा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अनशनरत डा. केसीको माग पुरा गर्न तथा उनको जीवनरक्षा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरे । ‘डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ । सरकारले तत्काल वार्ताका लागि समिति बनाउनुपर्छ । उहाँकाे माग पुरा गर्नुपर्छ ।’

यसअघि आइतबार सभापति शेरबहादुर देउवाले डाक्टर केसीका माग पूरा गर्न प्रधानमन्त्री ओलीलाई सार्वजनिक अपिल गरेका थिए । कलाकार, अन्य राजनीतिक दलका नेताहरूले पनि डा. केसीकाे अनशनमा ऐक्यबद्धता जनाइरहेका छन् ।

डा. केसीकाे समर्थनमा उनका समर्थकहरूले माइतीघरमा दिनहुँजसाे प्रदर्शन गरिरहेका छन् । नेपाल चिकित्सक संघले पनि डा. केसीसँग वार्ता गर्न ७२ घण्टे अल्टिमेटम दिएकाे छ । यद्यपी सरकारले भने कुनै प्रतिक्रिया जनाएको छैन ।

प्रतिक्रिया