कर्मचारीमा कोरोना भएपछि काठमाडौं जिल्ला अदालतद्वारा इमरजेन्सी वाहेकका सेवा स्थगित

काठमाडौं । कर्मचारीमा कोरोना पोजेटिभ पाएपछि काठमाडौं जिल्ला अदालतले आफ्ना केही काम कारवाही अनिश्चितकालका लागि स्थगित गरेको छ ।

अदालतका काम गर्ने केही कर्मचारीहरु कोरोना संक्रमणका कारण होम आइसोलेसनमा बसेकाले सेवाग्राहीको चापमा सिमित कर्मचारीबाट काम गर्न जोखिम बढेकाले अदालतले आफ्ना केही कामहरु अनिश्चितकालका लागि स्थगित गरेको हो ।

जिल्ला अदालतका प्रवक्ता ज्ञानबहादुर कार्कीले आजबाट अनिश्चितकालका लागि पेशी, वकपत्र, मुद्दा फैसला जस्ता कार्यहरु स्थगित गरेका बताए । उनले सरकारी मुद्दामामला र इमरजेन्सी तथा थुनछेक, फिरादपत्रहरु भने चालू रहने जनाए ।

‘केही कर्मचारीहरुमा कोरोना पोजिटभ देखिएको छ । केही घरमै छन्, जनशक्ति अभाव भएको तथा सेवाग्राहीहरुको अत्याधिक भिडभाड बढेकोले केही विषयहरु स्थगित गरेका हौं ।’ उनले भने ।

जिल्ला अदालतले सेवाग्राहीहरु अदालत आएपछि आजका केही पेशीहरु समेत स्थगित गरेपछि सेवाग्राहीहरुमा असन्तुष्ठी बढेको छ । ‘कमसेकम विहानै अथवा सार्वजनिक सुचना जारी गरेर जानकारी दिएको भए केही राहत हुन्थ्यो, पेशी चढेको जनाउ दिएर स्थगित गर्दा असहज भयो ।’ एक सेवाग्राहीले भने ।

कोरोना संक्रमणले जिल्ला अदालतहरुमात्र हैन सर्वोच्च र उच्च अदालत समेत प्रभावित बनेका छन् ।

सर्वोच्च अदालतले समेत हिजै सुचना प्रकाशित गरेर केही न्यायाधिश, अधिकृत र कर्मचारीहरुमा कोरोना पोजेटिभ भएको र उनीहरु होम आइसोलेसन तथा होम क्वारेन्टिनमा रहेको जनाएको छ ।

प्रतिक्रिया