सलमानको ‘राधे’ को सुटिङ पुनः सुचारू

एजेन्सी । बलिउड अभिनेता सलमान खानले आइतबार सामाजिक सञ्जालमार्फत् ‘राधेः योर मस्ट वान्टेड भाइ’ को सुटिङ पुनः सुरु गरेको जानकारी दिएका छन् ।

खानले आइतबार आफ्नो इन्स्टाग्राममा चलचित्रको तस्बिर राखेर लेखेका छन –‘साढे ६ महिनापछि सुटिङमा फर्किएको छु ।’ यो चलचित्र अर्को मे २२ तारिखमा रिलिज हुनेछ । चलचित्रमा सलमान खानसँगै अभिनेत्री दिशा पाटनीको अभिनय रहने छ ।

चलचित्रको दुईवटा गीतको सुटिङ र लगभग पाँच दिनको काम अझै बाँकी भएको भारतीय सञ्चार माध्यमले जनाएको छ । लकडाउनको घोषणा हुनु भन्दा पहिला निर्देशक प्रभु देवाको निर्देशनमा बनिरहेको यो चलचित्रको सुटिङ भइरहेकाे थियाे ।

कोरोना भाइरसको जोखिममा सावधानी अपनाउँदै राधेको टिमले स्टुडियो नजिकै रहेको होटल बुक गरेको छ । सुटिङको समयमा टिमका कुनै पनि व्यक्तिले बाहिरका मान्छेलाई भेट्न भने पाउने छैनन् ।

चलचित्र राधेको प्रोडक्सन टिमको स्रोतका अनुसार – ‘पूरा टिमको कोरोना भाइरसको परीक्षण गरिएको छ, कसैमा पनि कोरोनाको संक्रमण देखिएको छैन । पुनः परीक्षण अभिनेता र प्रमुख टीमका सदस्यसहित सेटको नजिक रहने सम्पुर्ण व्यक्तिको गरिने छ । सलमानले सेटमा पूरा सावधानी अपनाएका छन् । सलमानको सुझावमा सेटमा एक डाक्टरबाहेक एक विशेष टिम रहने र टिमले सेटमा स्वच्छतालाई ध्यानमा राखेको छ–छैन भनेर सुनिश्चित गर्नेछ ।’

प्रतिक्रिया