दुई लाख बढी नगदसहित काठमाडाैं र कैलालीबाट १३ जुवाडे पक्राउ

काठमाडौं । विभिन्न जिल्लाबाट तास खेलिरहेकाे अवस्थामा दुई लाख बढी नगदसहित १३ जुवाडे पक्राउ परेका छन् ।
काठमाडौंकाे कीर्तिपुर नगरपालिका-९ हनुमानघाटस्थित संगीता श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा कीर्तिपुर नगरपालिका-४ मच्छेगाउँ बस्ने २६ वर्षीय मनिष खतिवडा सहित ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
संगीताको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५० हजार रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै कैलालीकाे धनगढी उपमहानगरपालीका-१३ राजपुरस्थित महाकाली फर्निचर उद्योगमा तास खलिरहेको अवस्थामा ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका-१३ बस्ने ५० वर्षीय दिवाकर पाण्डे, ३४ वर्षीय पुष्कर दत्त पन्त, ३२ वर्षीय नरेश बोहरा, ५८ वर्षीय खिरुराम राना, ३० वर्षीय धिरज साउद, ४३ वर्षीय राम बहादुर साउद र ६३ वर्षीय कृष्णानन्द गिरी रहेका छन् ।
उक्त उद्योगमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६१ हजार ३ सय ३० रुपैयाँ र २ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।








