प्रदेश ५ राजधानी विवाद: बुटवलमा चार दिन निषेधाज्ञा

काठमाडौं । प्रदेश ५ को राजधानी दाङको भालुवाङ प्रस्ताव गरिएपछि बुटवलमा आन्दोलन चर्कन थालेपछि प्रशासनले निषेधाज्ञाको घोषणा गरेको छ । स्थानीय प्रशासनले आज बिहान ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा लगाएको हो ।

शनिबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सूचना निकालेर आउँदो २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधाज्ञा घोषणा गरेको हो । निषेधित क्षेत्रमा भीडभाड, सभा, जुलुस, प्रदर्शनलगायत गतिविधि गर्न–गराउन रोक लगाइएको छ । त्यस्तै, पाँच जनाभन्दा बढी व्यक्ति समूहमा उपस्थित भएर हिँडडुल गर्न पाइने छैन ।

कोरोना भाइरस (कोभिड–१९) महामारीको समयमा आन्दोलनले उग्र रुप लिन थालेपछि जिल्ला प्रशासन कार्यालयले मुख्यमन्त्री र मन्त्रीका कार्यालय, प्रदेश सभा भवन रहेका आसपासको क्षेत्रमा निषेधाज्ञाको घोषणा गरेको हो ।

सूचना अनुसार प्रदेशसभा भवन रहेको क्षेत्र दक्षिणमा इँट्टा भट्टीचोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिर देखि इँट्टा भट्टीचोकसम्मको कालिका पथ क्षेत्रमा हिँडडुल गर्न पाइने छैन ।

त्यसैगरी दक्षिणमा सुन्दर चोक, उत्तरमा भड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेका दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युत चोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र निषेधाज्ञा लागू गरिएको सूचनामा उल्लेख छ ।

प्रदेश राजधानी दाङको भालुवाङ प्रस्ताव गरेको विरोधमा शुक्रबारदेखि बुटवलमा प्रदर्शन सुरु भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०कै केही सांसदले यो निर्णयको विरोध गरेका छन् भने प्रमुख प्रतिपक्षी दल लगायत विभिन्न समूहले बुटवलमा आन्दोलन चर्काएका छन् ।

प्रतिक्रिया