‘वहस तर्क संगत गरौं, दाङ प्रदेशको उपयुक्त राजधानी हो’ शान्ता चौधरी

वुटवल । नेकपाकी सांसद शान्ता चौधरीले प्रदेश ५ को राजधानी दाङको भालुवाङ बनाउने प्रदेश ५ सरकारको निर्णयलाई समर्थन गरेकी छन् । उनले प्रदेश नम्बर ५ को राजधानी दाङमा बनाउने विषयको सकारात्मक छलफलले प्रदेश नं ५ का जनतालाई अत्यन्तै उत्साहित बनाएको समेत बताएकी छन् ।

साथै चौधरीले राजधानी बनाउँदा ध्यान दिनपर्ने केहि महत्त्वपूर्ण सवालहरुलाई मध्यनजर गरिनुपर्ने बताएकी छन् । उनले ५ नम्बर प्रदेशका अधिकांश जनतालाई पायक पर्ने स्थान दाङ नै रहेको बताउँदै त्यसको प्रदेशको बीचभागमा पर्ने भालुवाङमा पर्याप्त पूर्वाधार निर्माण गर्न सकिने भू–भाग रहेको बताएकी छन् ।

‘भौगोलिक सुगमता र मिलेको भूगोल (दाङ एशियाकै दोस्रो ठुलो उपत्यकाको रुपमा परिचीत छ । आर्थिक र प्रशासनिक विकास अर्थात भौतिक पुर्बाधारको विकास गर्न सकिने ठाउँ दाङ प्रदेश नम्बर ५ मा एक नम्बरको त्यस्तो जिल्ला हो जहाँ पर्याप्त संरचना निर्माण गर्न सकिन्छ ।’

उनले दाङमा राजधानी बनाएर नयाँ–नयाँ सडक निर्माण गरि प्रदेशभरका जनतालाई आवतजावतको दृष्टिकोणले अहिले भन्दा पनि सुगम बनाउन सक्ने संभावना रहेको पनि तर्क गरेकी छन् । यसका साथै दाङ नेपालका आदिवासी धर्तीपुत्रका रुपमा परिचित थारुको बाहुल्यता भएको जिल्ला भएकोले राजधानी बनाउँदा सकारात्मक सन्देश जाने पनि दावि गरेकी छन् ।

दाङ पर्यटन र कृषिको क्षेत्रमा फड्को मार्न सक्ने पर्याप्त सम्भावना बोकेको ठाउँ भएको बताउँदै प्रदेशको राजधानी बनाउँन उपयुक्त हुने बताएकी छन् ।

उनले वुटवलबाट भालुवाङ राजधानी सार्ने निर्णयको विरोधमा भइरहेको आन्दोलन र वहस प्रति भनेकी छन्,‘वहस तर्कसंगत गरौं, मेरो मात्रै पायक पर्ने ठाउँ भन्ने नठानी समग्र प्रदेश नं ५ का जनताको हितमा सोचौं र दाङमा नै प्रदेशको राजधानी बनाउने विषयलाई निर्णय गरेर अगाडि बढौं यसैमा जनताको कल्याण हुनेछ ।’

प्रतिक्रिया