रत्ननगरका मेयरकाे ‘काेराेना अनुभव’ : बाँच्नका लागि जस्तो चिज पनि खाइयो

  • ध्रुवराज खनाल

चितवन । रत्ननगर नगरपालिकाका मेयर हालै मात्र कोरोना संक्रमणबाट मुक्त भएका छन् । होम आइसोलेसनमा बसेर रोग निको भएका मेयर बिहीबार नियमित काममा फर्किएका छन् ।

शुक्रबार पत्रकार माझ मेयर वनले कोरोना संक्रमणपछि होम आइसोलेसनमा रहँदाको अनुभव सुनाए । ‘कोरोना संक्रमण नियन्त्रणका लागि दिनरात खट्दा आफैंमा संक्रमण देखियो’, मेयर वनले भने- ‘जनताको सेवामा खटिरहने बानी परेको घरभित्रै बस्दा उकुस-मुकुस भयो । आफ्नो स्वास्थ्यको ख्याल गर्दै नगरबासीको पनि चिन्ता उत्तिकै लाग्यो ।’ कोरोनाबाट छिटो मुक्त हुन आत्मबल बलियो बनाउनुपर्ने आफूले अनुभव गरेको उनले सुनाए ।

होम आइसोलेसनमै बस्दा आत्मबल बढ्ने भन्दै मेयर वनले बाच्नको लागि जस्तो सुकै चिज (मरिच, बेसारपानी, निमको पात, पारिजातको पात) खाइएको समेत बताए । गुर्जो बेसार पानीको नियमित सेवन गरेको बताउँदै उनले योगा, ध्यान समेत ती अवधिमा गरेको जानकारी दिए । होम आइसोलेसनको अवधिमा एक दिन अलि गाह्रो भएपनि चिकित्सकको सल्लाह अनुसार स्वास्थ्य विधि अपनाइएको उनले सुनाए ।

मेयर वनले आफ्नो स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्ने, सुझाव दिने, स्वास्थ्यको कामना गर्ने सबैलाई धन्यवाद समेत दिए । सो अवसरमा नगरपालिका उपमेयर बिमला दुवाडिले घरायसी र आयुर्वेदिक औषधि सेवन र योग अभ्यास नियमित गरे कोरोनालाई सजिलै परास्त गर्न सकिने बताइन् ।

रत्ननगरमा ३१६ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

चितवन । चितवनको ठुलो नगरपालिकाको रुपमा रहेको रत्ननगरमा कोरोना संक्रमणबाट निको हुनेको संख्या बढ्दै गएको छ । कोरोना भाइरस संक्रमण देखिए यता शुक्रबारसम्म ३१६ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

जसमध्ये ७८ प्रतिशत संक्रमित निको भएर घर फर्किएका नगरपालिकाले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । स्वास्थ्य शाखा प्रमुख माधव पौडेलका अनुसार हालसम्म १ हजार ४४४ जनाको पीसीआर नमुना परिक्षण गरिएकोमा ३१६ जनामा संक्रमण पुष्टि भएको छ ।

ती मध्ये २४८ जना अर्थात ७८ प्रतिशत निको भएको र ६५ जना बिरामीमा कोरोना सकृय रहेको पौडेलले बताए । जसमध्ये ५७ जना होम आइसोलेसन, ५ जना सामुदायिक आइसोलेसन र ३ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरु सबै लक्षण बिहिन रहेको स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिए ।

कोरोना संक्रमणका कारण रत्ननगरमा हाल सम्म ३ जनाको अर्थात् १ प्रतिशतको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना पुरुष र १ जना महिला रहेका छन् । रत्ननगरमा हालसम्म ३९५ जना सामुदायिक क्वारेन्टाइन, ३१० जना होम क्वारेन्टाइनमा बसिसकेका छन् भने ४०५ जनाको आरडिटी परिक्षण गरिएको छ ।

रत्ननगरमा दुई वटा उद्योगमा संक्रमण फैलिएको कारण संक्रमितको संख्या धेरै देखिएको रत्ननगरका मेयर नारायण वनले बताए । मेयर वन स्वयम्मा कोरोना संक्रमण देखिएर निको भइसकेको छ । रत्ननगरमा सबै भन्दा धेरै वडा नम्बर १४ मा ६५ जना र सबैभन्दा कम वडा नम्बर ६ मा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया