जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भरतपुरमा शहरी क्लिनिक 

चितवन । चितवनको रत्ननगरमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले भरतपुर महानगरपालिका ११ मा शहरी क्लिनिकबाट सेवा सुरु गरेको छ ।

महानगरीय स्वास्थ्य प्रवर्द्धन स्वस्थ जीवनशैली व्यवस्थापन कार्यक्रम अन्तर्गत शहरी क्लिनिक कार्यक्रम सो वडाको पोखरी चोकमा बिहीबारदेखि सुरु गरेको हो ।

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक  रमेश अधिकारीले शहरी क्लिनिकको उद्घाटन गरे । सो अवसरमा  अधिकारीले अहिलेको परिस्थितिमा स्वस्थ रहनका लागि आयुर्वेद, योग एवं जीवनशैली व्यवस्थापनको महत्त्व पूर्ण भूमिका रहेको बताए ।

प्रदेश सरकारले मेरो स्वास्थ्य मेरो जिम्मेवारी नाराका साथ जीवनशैली परिवर्तन कार्यक्रम अन्तर्गत मद्यपान, धूम्रपान जस्ता स्वास्थ्यलाई हानी गर्ने जीवनशैली परिवर्तन गरी स्वस्थ जीवनशैली अपनाउन स्वास्थ्यकर्मी लगायत समाजका अगुवा जनप्रतिनिधि, शिक्षक सबैले भूमिका खेल्नु पर्ने उनले बताए ।

भरत ११ का वडाध्यक्ष  बाबुराम अधिकारीले पिनास, माइग्रेन्, मधुमेह, उच्च रक्तचाप, बाथ रोग आदिमा आयुर्वेद उपचार प्रभावकारी रहेको आफ्नो अनुभव सुनाउँदै यस कार्यक्रमलाई अझ प्रभावकारी ढङ्गमा निरन्तरता दिनु पर्ने मा जोड दिए  ।
सो कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा कोपिला अधिकारीले प्रत्येक महिनाको ५ र १५ गते निःशुल्क स्वास्थ्य परीक्षण एवं औषधि वितरण कार्यक्रम गरिने जानकारी दिँदै आगामी दिनमा योग सेवा पनि सञ्चालन गर्ने योजना रहेको सुनाइन् ।

चितवन जिल्लामा आयुर्वेद औषधि निर्माण एवं जडीबुटी प्रशोधन केन्द्रको निर्माण भइरहेको र प्रादेशिक आयुर्वेद अस्पतालको लागि पहल भइरहेको समेत उनले जानकारी दिइन् ।

प्रतिक्रिया