मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

अभियुक्तकी आमाको पीडा : ‘मेरा दसधारा दूध खड गया’

बझाङ । साँझको करिब ७ बज्दै थियो । जिल्ला प्रहरी कार्यालयको मुख्य भवनअगाडि चहलपहल बाक्लिन थाल्यो । प्रहरी सम्झना कामीको बलात्कारपछि हत्या आरोपमा समातिएका मस्टा गाउँपालिका–२ का राजेन्द्र बोहरालाई मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै थिए ।

सय मिटर तलतिरको सल्लाघारीमा एक दम्पती एकदमै हतास र उदास देखिन्थे । मुखमा नीलो सर्जिकल मास्क लगाएका दुवै जनाको अनुहार पनि कालोनीलोझैं थियो । रूखको फेदमा अडेस लगाएर बसिरहेका उनीहरूको छेवैमा एउटा सानो बालक खेलिरहेको थियो । नजिकैको प्रहरी कार्यालयमा भइरहेको चहलपहलबारे पत्तै नपाएझैं बूढाबूढी घरी एकटकले आकाशतर्फ हेर्थे, घरी खुइय सुस्केरा हाल्दै भुइँतिर हेरेर टोलाउँथे । प्रहरीले सार्वजनिक गर्न लागेका अभियुक्त राजेन्द्रका आमाबुबा उनीहरू नै थिए ।

बुबा वीरबहादुरको मलिन अनुहारमा विरक्ति झल्किरहेको देखिन्थ्यो । आमा लछुदेवी पनि उत्तिकै उदास देखिन्थिन् । उनी आफ्नै सुरमा अघिल्तिर खेलिरहेको सानो नातिलाई तान्दै काखमा राख्न खोजिरहेकी थिइन् ।

छोराका बारेमा केही बोल्न अनुरोध गर्दा सुरुमा वीरबहादुर तर्किए । ‘पुलिसले जाँचबुझ गर्दै छ, तपाईंसँग के बोलुँ । बोल्नैपरे ठाउँमै बोलुँला,’ यति भनेर उनी फेरि आकाशतर्फ हेर्न थाले । पत्रकारको परिचय दिँदै आफूसँग बोलेकै कारण कुनै अप्ठ्यारो नपर्नेमा आश्वस्त पारेपछि बल्ल उनी कुराकानी गर्न राजी भए । लामो सुस्केरा हाल्दै वीरबहादुरले भने, ‘सन्तानको रूपमा कंश जन्मिएछ । यसले हामीलाई कहिल्यै शान्ति दिएन ।’

त्यसपछि निकै खुलेर बोल्न थालेका उनले राजेन्द्रको अपराधकर्मबारे बेलीविस्तार लगाउन थाले । ‘यसको दामलका ३/४ जना यस्तै अपराधमा लागेका छन् । ऊ गाउँमा घर फोर्ने, दोकान चोर्ने काम गर्थ्यो । कहिले कसको, कहिले कसको अपराध गरेर आउँथ्यो,’ उनले भने, ‘कति पिटें, कति थर्काएँ, मान्दै मानेन । आज यो दिन देख्नुपर्‍यो ।’ राजेन्द्रले गरेका सानातिना अपराधमा आफूले थुप्रै जरिवाना तिर्नुपरेको तर पछिल्लो समय भने वास्तै गर्न छाडेको वीरबहादुरले बताए । उस्तै खालका साथीसँगातीले गर्दा छोरो यसरी उद्दण्ड बन्दै गएको हुन सक्ने उनले बताए ।

आठ कक्षासम्म पढेका राजेन्द्रका दुई दाजु छन् । एक जना भारतमा छन् भने अर्का गाउँमै खेतीकिसानी गर्छन् । कुराकानीका क्रममा वीरबहादुरले साउन २६ गते भएको बलात्कारपछि गरिएको मिलापत्रको घटनाबारे पनि सुनाए । उनका अनुसार त्यो दिन उनीसहित किशोरी र राजेन्द्र दिनभर पानीघट्टमै थिए । साँझ ५ बजेपछि दुवैलाई त्यहीं छाडेर उनी घर फर्किए । ‘त्यो दिन ऊ पनि समयमै घर आएको थियो ।

तीन–चार दिनसम्म यो विषयमा कसैले केही भनेन,’ वीरबहादुरले भने, ‘चौथो दिन उसको दाइ आएर मेरो बहिनीलाई यस्तो गर्‍यो, उजुरी गर्छौं भने । मैले अपराध गरेको भए प्रहरीले जाँचबुझ गर्ला, उजुरी गर भनेर पठाएको हुँ । पछि कसले हो फर्काएर मिलाउँछौं भनेछ । जरिवानाका लागि ५ सय रुपैयाँ लाग्छ भनेपछि त्यो मैले दिएको हुँ । मिलापत्रको कागज लेख्ने बालम दमाईं हो ।’

पाँच सय रुपैयाँ माग्न उनी घरमै आएपछि दिएको र कागजमा के लेख्यो र मिलाउने को–को थिए भन्ने आफूले थाहा नपाएको उनले बताए । छोरो राजेन्द्रको आपराधिक पृष्ठभूमिबारे बताउँदै गर्दा उनले सम्झनाको हत्यामा उसको संलग्नता इन्कार गर्न सकेनन् । उनका अनुसार त्यो दिन (गत असोज ७ गते) ३ बजे गाईबस्तु चराउन खोलातर्फ गएका राजेन्द्र बेलुका साढे ५ देखि ६ बजेबीचमा घर फर्किर्एका थिए । ‘पुलिसले पक्रेर ल्याएको छ, बयान हुँदै छ अरे,’ उनले भने, ‘उसले गरेन होला भनेर पनि म भन्न सक्दिनँ । कसैले नदेखेको घटना उसैले गर्‍यो भनेर पनि कसरी भनूँ ।’

वीरबहादुर बोल्दै गर्दा आमा लछुले बीचैमा आक्रोश पोखिन्, ‘त्यइले (त्यसैले) मारयाको हो भन्या त त्यो माइस (मान्छे) होइन, दँइत (राक्षस) हो । गर्भैमा मरिदिएको भए आज आनन्द हुन्या रहेछ । मेरा दसधारा दूध खड (खेर) गया ।’ बोल्दाबोल्दै उनले बरर्र आँसु खसालिन् । अर्कोतिर फर्किएर सुँक्कसुँक्क रुँदै भनिन्, ‘यसो (यस्तो) सन्तान कसैको कोखमा पैदा नहोस् ।’ पत्नीको आँसु र आक्रोश देखेर वीरबहादुर झन् उत्तेजित भए । आफ्नो छोराले सम्झनाको हत्या गरेको प्रमाणित भए उसलाई हदैसम्मको सजाय हुनुपर्ने भन्दै उनी कड्किए, ‘त्यसैले मारेको हो भने त्यस्तालाई बचाएर के गर्ने ?’ –कान्तिपुरबाट

प्रतिकृयाहरु
Loading...