पीसीआर शुल्क बढी लिने आठ वटा ल्याबको अनुमति खारेज गर्ने चेतावनी

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण शुल्क बढी लिने आठवटा प्रयाेगशालामाथि कारवाही गर्ने चेतावनी दिएकाे छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले आज (बुधबार) काे प्रेस ब्रिफिङका क्रममा पीसीआर शुल्क बढी लिने ८ वटा निजी प्रयाेगशालामाथि शुल्क नघटाए कारवाही गर्ने चेतावनी दिएका हुन् ।

मन्त्रालयले भदौ २८ मा पीसीआरको २ हजार रुपैयाँ निर्धारण गरेको थियाे । केही निजी ल्याबहरूले भने ३ हजार ९ सय देखि ४ हजार ४ सय रुपैयाँसम्म लिइरहेकाे पाइएपछि मन्त्रालयले शुल्क समायोजन नगरे कालोबजारीमा कारबाही चलाउने चेतावनी दिएकाे हाे ।

गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमनमा ललितपुरको स्टार अस्पताल, बीएण्डबी अस्पताल, नेपाल मेडिसिटी, सेन्ट्रल डायगनोस्टिक ल्याबरोटरी एण्ड रिसर्च सेन्टर, सुरिया हेअल्थ केयर, ह्याम्स, डीकोड जिनोमिक्स एण्ड रिसर्च सेन्टर,  इन्टरपिड डायगनोस्टिक सेन्टरले २ हजार रुपैयाँ भन्दा बढी लिएको पाइएको मन्त्रालयले जनाएको छ ।

२४ घण्टा भित्र तोकिएको शुल्क समायोजन नगरे प्रयोगशालाको स्वीकृति खारेज गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोशालालाई निर्देशन दिने निर्णय भएको प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

प्रतिक्रिया