सरकारले नमागे पनि घरधनीले माग्छन् पीसीआर रिपोर्ट : रिपोर्ट लिन रातको १ बजेदेखि लाइनमा

काठमाडौं । नेपालीहरुले कुनै सरकारी कार्यालय गएर काम गराउनु पर्यो भने सायदै लाइन बिना कुनै पनि काम हुँदैन । लाइनै बस्नु परेपनि अफिस समयमा नै काम हुने क्षेत्रहरु कम छन् ।

तर, अहिले टेकुमा कोरोनाको जाँच गराएर रिपोर्ट लिनका लागि राति १ बजेदेखि नै लाइनमा बस्ने गरेका छन् । सरकारी कार्यालयमा बेला बेलामा राति नै गएर लाइन बस्नेहरुको पीडा छुटै किसिमको छ ।

यसभन्दा अगाडी पनि यातायातमा लाइसेन्स लिनका लागि सर्वसाधारणहरु राति १० बजेदेखि नै लाइन बसेका थिए ।

अहिले देशका विभिन्न ठाउँ र भारतबाट आएका सर्वसाधारणहरुले टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना जाँच गरेर रिपोर्ट लिनका लागि भोक र निन्द्रालाई नै मारेर लाइन बसी रिपोर्ट लिने गरेका छन् ।

एक दिनमा सो अस्पतालले ३ सयको मात्रै कोरोना परिक्षण गर्ने गरेको छ । तर, राति नै आएर ६ सयभन्दा पनि धेरै लाइन बस्ने गरेका छन् । २ दिनसम्म पनि लाइन बसेर कोरोनाको रिपोर्ट लिएका छन् ।

कोरानाको कारणले ७ महिना देशभर पूरै अत्यावश्यक बाहेका सेवा बन्द भए । बन्द भएपछि काठमाडौं बस्नेहरु भोकै मरिने डरले केही यातायातमा त केही ३ दिनसम्म हिँडेर आफ्नो गाउँ गएका थिए ।

७ महिना लामो बन्द असोज १ गतेदेखि निषेधाज्ञा हटाएपछि काठमाडौं उपत्यका आउने संख्या वृद्धि भएको छ । चैत ११ गतेदेखि लकडाउन भएपछि कामबिहीन भएर गाउँ गएकाहरु आफूले काम गर्ने उद्योग, कलकारखानालगायत खुलेपछि काठमाडौं आउन थालेका हुन् ।

काठमाडौं आउनेलाई कसरी घरभाडा तिर्ने भन्ने चिन्ता छ । त्यसमाथि पनि रातभरी लाइन बसेर कोरोनाको पीसीआरको रिपोर्ट ल्याउनुपर्ने अवस्था छ ।

कामका लागि काठमाडौं भित्रिएकाहरुलाई घरबेटी र रोजगारी दिनेहरुले पीसीआर रिपोर्ट खोजेपछि कोरोना परीक्षण गर्नेहरुको संख्या बढेको छ । पीसीआर रिपोर्टकै लागि रातभरी पालो पर्खनुपर्दा धेरैलाई सास्ती भएको छ ।

रौतहटबाट कामका लागि काठमाडौं आएका शिवजी प्रसाद गुप्ता काठमाडौं आएर आफू बस्ने गरेको घरमा गए । तर त्यहाँ सबैले पीसीआरको रिपोर्ट हेरेर मात्रै घरमा बस्न पाइने भनेपछि उनी २ दिन लाइनमा बसेर पीसीआरको प्रतिक्षा गरिरहेका छन् ।

‘२ दिनदेखि सडकमा नै लाइन बसिहरेको छु, बिहान ९ बजेदेखि ३ सय जनाको मात्रै पीसीआर चेक हुन्छ, खाना खानको लागि पनि पैसा छैन,’ गुप्ताले भनेका छन् ।

भरतको गोरखपुरबाट नेपाल आएका सञ्जय राम पनि पीसीआरको रिपोर्ट लिन २ दिनदेखि लाइनमा बसेका छन् । उनले भारतमा पनि कोरोना चेक गराएका थिए । रामले कोेरोना नलागेको रिपोर्ट पेस गरेर नेपाल आएको उनले दावी गरे । १५ वर्षदेखि काठमाडौंमा रङ लगाउने काम गर्ने गरेको उनी बताउँछन् ।

‘मलाई घरधनीले पीसीआर रिपोर्ट मागेको हैन, आफैँ सेभ हुनुपर्छ भनेर चेक गराउन आएको हुँ, मलाई कोरोनाको कुनै लक्षण छैन,’ रामले भने ।

कलंकी बस्ने वीरगन्जका सन्तोष यादव काठमाडौंमा साइकलमा अण्डाको व्यापार गर्छन् । अण्डा झार्ने पसल र होटलमा कोरोना नलागेको रिपोर्ट नलागेको रिपोर्ट देखाएपछि मात्रै अण्डा बिक्री हुने गरेको बताउँछन् ।

‘म काठमाडौं आएको तीन दिनसम्म कोरोना जाँच गराउनै लाग्यो । त्यसपछि रिपोर्ट आयो, र म अण्डा बिक्री गर्ने काम शुरु गरेँ । तर, कतिपय पसलेहरुले यो तराईबाट आएको हो, यसको वरीपरी पर्नु हुँदैन भनेर चित्त दुखाउने कुरा गर्छन् ।’ उनले थपे, ‘नेपाल सरकारले मान्यता दिएको अस्पतालबाट कोरोना नलागेको रिपार्ट लिएर हिँड्दा पनि तराईबाट आएको भनेरै व्यापार घटेको छ ।’

प्रतिक्रिया