वीपीका उपकुलपतिले प्रोटोकल विपरित कर्मचारी सरुवा र नियुक्ति गरेको प्रति अख्तियारले अनुसन्धान गर्ने

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले कोरोना संक्रमण भएर आइसोलेसनमा बसेकै बेला कर्मचारी सरुवा र नियुक्ति गरेको प्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ ।

आयोगको इटहरी कार्यालयले उपकुलपति कोरोना भएर आइसोलेसनमा बसिरहेको बेला उनकै हस्ताक्षरमा भएको सरुवा र नियुक्तिको पत्र अनुसन्धान अगाडी बढाएको छ ।

आयोगले प्रतिष्ठानलाई पत्र काट्दै आइसोलेसनमा बसेका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले कर्मचारीको सरुवा, जुनियरलाई जिम्मेवारी दिएकोलगायत बिषयमा जवाफ माग गरेको हो । अख्तियारले कर्मचारीहरुको नियुक्ति गरेको सन्दर्भमा पनि प्रतिष्ठानसँग जवाफ मागेको छ ।

डा.गिरी आइसोलेसनमा बसेकै बेला हस्ताक्षर भएको कर्मचारीको सरुवा, जिम्मेवारीबाट हटाएको पत्र सम्बन्धित व्यक्तिहरुमा पुगेको थियो । सोहि समयमा उपकुलपति डा. गिरीले दुई दर्जन कर्मचारीहरुको नियुक्ति समेत गरेको र सो सम्बन्धमा समेत जवाफ माग गरिएको छ ।

कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसिरहँदा कुनैपनि वस्तु तथा सामग्रीहरु अन्यलाई छुन दिनु हुँदैन । कोरोना प्रोटोकल अनुसार संक्रमित व्यक्तिले छोएको वा प्रयोग गरेको वस्तुहरु डिस्पोज गर्नुपर्ने हुन्छ । तर, उपकुलपति आफैंले हस्ताक्षर गरेको पत्र सरुवा भएका कर्मचारीलाई दिइएको थियो । प्रतिष्ठानका इन्जिनियरिङ शाखाका प्रमुख इ. मदन शाहलाई हटाइएको भन्ने उपकुलपतिले हस्ताक्षर गरेको पत्र प्रतिष्ठानका शिक्षाध्यक्ष डा. गुरु खनालका पिए उमाले मदन शाहको क्वाटरमै पुर्याएका थिए ।

प्रतिष्ठान स्रोतका अनुसार संक्रमण भएर आइसोलेसनमा बसेका व्यक्तिले प्रक्रिया विपरीत कर्मचारी सरुवा, जुनियरलाई जिम्मेवारी दिएको र धमाधम नियुक्ति गरेको बिषयमा अख्तियारले सोधपुछ गरेको हो ।

उपकुलपतिले गरेका कामप्रति अख्तियारमै उजुरी परेपछि छानविनको प्रक्रिया अगाडी बढाइएको हो । अख्तियार इटहरी शाखाका प्रमुख प्रकाश पौडेलले उजुरी परेको बिषयमा छानबिन गर्नु र जवाफ माग्नु स्वभाविक भएको बताए । आयोगका इटहरी स्थित सुचना अधिकारी पुरुषोत्तम ढकालले छानबिनको क्रममा भएको बिषयमा प्रतिक्रिया दिन नमिल्ने बताए । ‘हामीले कसको विषयमा उजुरी पर्यो भनेर बोल्न मिल्दैन, पछि थाहा पाइहाल्नु हुन्छ ।’ मकालु खबरसँग ढकालले भने ।
यस विषयमा वीपी प्रतिष्ठानका रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मीले यो आन्तरिक बिषय भएकोले बोल्न नमिल्ने बताए ।

संक्रमित व्यक्ति आइसोलेसनमा बसेपछि स्वतः कार्यालयबाट विदामा भएपनि उपकुलपति डा.गिरी भने कर्मचारी सरुवा, नियुक्तिमा सक्रिय रहेका थिए । उनका स्वकीय सचिब दिलिप भट्टराईले उपकुलपतिलाई प्रयोग गर्दै प्रतिष्ठानमा आफुलाई मन नपराउने कर्मचारीहरुलाई सिध्याउने रणनीति बनाएको कर्मचारीहरुको भनाई छ ।

प्रतिष्ठानका उपकुलपति र उनका सल्लाहकार समेत रहेका स्वकीय सचिवले कोरोना अस्पताल निर्माणमा चलखेल गरेको प्रति समेत आयोगले चासो राखेको छ । हिजो मात्रै धरानका एक व्यवसायीले कोरोना अस्पतालमा डोर क्लोजर जडान गर्दा दिलिप भट्टराईले आफुबाट खाली विल लिएर चारगुणा बढिको बिल बनाएको आरोप लगाउँदै पत्रकार सम्मेलन नै गरेका थिए ।

कर्मचारी समन्वय समितिका संयोजक महेश्वर राई लगायतको टीमले नियम विपरीत उपकुलपति गिरीले कर्मचारीको सरुवा गरेको भन्दै आपत्ति जनाएका छन् । उनले हिजै रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीसँग भेटघाट गरी नियमविपरीत कर्मचारी सरुवा गरेको प्रति ध्यानाकर्षण गराएका थिए ।

स्मरण रहोस, उपकुलपतिले कर्मचारी नियुक्ति र सरुवा गर्ने विषयमा प्रतिष्ठानका कुनै पदाधिकारीहरुसँग समन्वय र सल्लाह गरेका छैनन् ।

प्रतिक्रिया