रुपन्देही र कपिलवस्तुमा दुई कोरोना संक्रमितकाे मृत्यु

रुपन्देही । बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान एक कोरोना भाइरस संक्रमितकाे मृत्यु भएको छ ।

अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार रुपन्देहीको देवदह नगरपालिका-११ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा बिहान १० बजे मृत्यु भएको हो ।

यही असोज ११ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा आएका पुरुषको पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि कोरोना अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो । उनमा मिर्गौला र रगतमा खराबी रहेको अस्पतालले जनाएको छ । यससँगै अस्पतालमा मृत्यु हुनेको संख्या २० पुगेको छ ।

कपिलवस्तुमा महिलाको मृत्यु

कपिलवस्तुको बुद्धभूमि नगरपालिका- १ निवासी ५० वर्षीया कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ । उनको बिहान ३:३० बजे भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनी थाइराइड, मधुमेह, निमोनिया र दीर्घरोगबाट ग्रसित थिइन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि भैरहवा मेडिकल कलेज लगिएको थियो ।

असोज ५ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका हेल्थ असिष्टेन्ट उमेश घिमिरेले बताए । यससँगै कपिलवस्तुमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । रासस

प्रतिक्रिया