वीपी प्रतिष्ठानका चिकित्सकले उपकुलपति बर्खास्तको माग गरे, ‘ब्यवस्थापनबाट धम्की आयाे’

धरान । उपकुलपतिको अकर्मन्यताका कारण प्रतिष्ठानको व्यवस्थापन कमजोर भएको भन्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सिनियर चिकित्सकहरुले डा. ज्ञानेन्द्र गिरीलाई बर्खास्त गर्न माग गरेका छन् ।

गत बिहीबारदेखि मेडिकल एण्ड डेण्डल वेलफेयर सोसाइटीको नेतृत्वमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका प्रतिष्ठानका शिक्षक चिकित्सकहरुले आज आन्दोलनलाई निरन्तरता दिंदै उपकुलपतिकै बर्खास्तीको माग गरेका हुन् । प्रतिष्ठानका उपकुलपतिले आफ्ना न्युनतम मागहरु समेत पुरा गर्न चासो नदेखाएकोले प्रतिष्ठान सञ्चालन गर्न योग्य नरहेको समेत बताउँदै उनीहरुले उपकुलपति बर्खास्तको नारा लगाएका हुन् ।

अढाई बर्षदेखि रोकिएको बढुवा प्रक्रिया शुरु गर्नुपर्ने, बृद्धि भएको तलब उपलब्ध गराउनुपर्ने, जोखिम भत्ता पाउनुपर्ने लगायत जायज माग गर्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरुले पाँच दिनदेखि विहान उपकुलपति कार्यालय अगाडी प्रदर्शन गरेपनि पदाधिकारीले चासो दिएका छैनन् ।

प्रतिष्ठानको चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजका अध्यक्ष डा. विष्णु पोखरेलले फ्याकल्टीका न्युनतम माग समेत पुरा गर्न नसक्ने उपकुलपतिबाट प्रतिष्ठानको हितका अन्य काम हुन सक्दैन भन्ने लागेर बर्खास्तको माग गरेको बताएका छन् ।

आजको आन्दोलनमा प्रतिष्ठानका पूर्व शिक्षाध्यक्ष प्रा.डा.विक्रमप्रसाद श्रेष्ठ, सिनियर चिकित्सकहरु प्रा.डा.रविन मास्के, प्रा.डा.विक्रम प्रधान, प्रा.डा. नरेन्द्र भट्ट लगायत दर्जनौं चिकित्सकहरुको सहभागीता थियो । आजको धर्ना कार्यक्रममा बोल्दै प्रा.डा.रविन मास्केले आन्दोलनमा उत्रिने चिकित्सकहरुलाई प्रतिष्ठानको व्यवस्थापन पक्षबाट धम्की आएको बताए । उनले कसबाट धम्की खाएको खुलेर नबताएपनि प्रतिष्ठान स्रोतका अनुसार उपकुलपतिका सल्लाहकार दिलिप भट्टराईले चिकित्सकहरुलाई धम्की दिइरहेका छन् ।

‘उपकुलपति आइसोलेसनमा भएपनि उनी कहाँ आन्दोलनमा कोको आए गए थाहा हुँदो रहेछ । प्रदर्शनमा कोको थिए भन्ने कुरा सल्लाहकार तथा उपकुलपतिका स्वकीय सचिबले वाहेक अरुले भन्न सक्ने अवस्था छैन ।’ एक चिकित्सकले नाम नलेख्ने शर्तमा भने । समाजका अध्यक्ष डा. पोखरेलले माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

यता प्रतिष्ठानका रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीले फ्याकल्टीहरुका माग जायज रहेको बताउँदै उपकुलपति आइसोलेसनबाट निस्किएपछि सार्थक वार्तामार्फत माग पुरा गर्ने बताए । ‘उहाँहरुले उठाउनु भएका मागहरु जायज छन्, उपकूलपति ज्यू आइसोलेसनबाट निस्किएपछि सार्थक वार्ता हुन्छ ।’ डा. रेग्मीले भने ।

प्रतिष्ठानमा आर्थिक संकट भएपनि चिकित्सकहरुलाई विगतमा बृद्धि भएको तलब उपलब्ध गराउने तयारी भएको रजिष्ट्रार रेग्मीको भनाई छ । ‘स्रोतहरु व्यवस्थापन गर्ने कार्य भइरहेको छ । दशैंसम्ममा एक मुष्ट उपलब्ध गराउने पहल भइरहेको छ ।’ डा. रेग्मीले भने ।

उनले प्रमोसनका सन्दर्भमा लोकसेवा आयोगबाट नियमावली संसोधन गर्न आदेश आइसकेको र शिक्षाध्यक्ष डा.गुरु खनालको संयोजकत्वमा समिति गठन गरीएकोले छिट्टै प्रक्रिया अगाडी बढ्ने समेत बताए । कोभिडको जिम्मेवारी लिएर काम गर्ने फ्रन्टलाइनका चिकित्सककर्मीहरुको सुरक्षाका लागि प्रतिष्ठान प्रतिबद्ध रहेको र उनीहरुले गरेको योगदानको उच्च सम्मान समेत रहेको उनको भनाई छ ।

प्रतिष्ठानका चिकित्सकहरुले उपकुलपतिले जथाभावि गरेको नियुक्ति र कर्मचारी सरुवाको विरोध जनाएका छन् ।

प्रतिक्रिया