कास्की, सुर्खेत र झापाबाट अवैध लागूऔषध सहित तीन जना पक्राउ

काठमाडौं । विभिन्न जिल्लाबाट अवैध लागूऔषध सहित तीन जना पक्राउ परेका छन् ।

कास्की, पोखरा महानगरपालिका-९ महेन्द्रपुल डेरा गरी बस्ने लमजुङ मध्यनेपाल नगरपालिका-८ डढुआ घर भएका २७ वर्षीय सन्तोष परियार पक्राउ परेका छन् । उनलाई नियन्त्रित लागूऔषध बुप्रिनर्फिन ८ एम्पुल, डाइजेपाम ८ एम्पुल, फेनरागन ८ एम्पुल र ट्रामाडोल १ हजार ८ सय ९० क्याप्सुल सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।

परियारले अबैध लागूऔषध खरिद तथा संकलन गरी पोखरा नगरक्षेत्रमा ओसारपसार एवम् बिक्री गर्न लागेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले परियारको कोठा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस्तै सुर्खेत, भेरीगंगा नगरपालिका-५ कालीदमारबाट करिब ४ सय २० मिलिग्राम लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो सहित वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोइली बस्ने २८ वर्षीय कमल घिमिरेलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ जाँदै गरेको बा४ ख ३७६५ नम्बरको गाडी जाँच गर्ने क्रममा गाडीमा सवार घिमिरेलाई उक्त परिमाणको धुलो सहित फेला पारी पक्राउ गरेको हो ।

उता झापा, मेचीनगर नगरपालिका-१० खयरडाँगी बस्ने १८ वर्षीय किशोर पनि अवैध लागूऔषध सहित पक्राउ परेका छन् । उनलाई करिब २ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो सहित आइतबार दिउँसो लागूऔषध नियन्त्रण ब्यूरो काकँडभिट्टाबाट खटिएको प्रहरीले पक्राउ गरेको हाे ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया