यी चार जिल्लामा ६० वर्ष पुगेकाहरू घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयकाे अनुराेध

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडाैं उपत्यका, माेरङ, चितवन, सुर्खेत लगायतका जिल्लामा ६० वर्ष नाघेका तथा दिर्घ राेगीहरूलाई घरबाहिर ननिस्कन अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले आज (आइतबार) काे प्रेस ब्रिफिङका क्रममा संक्रमण धेरै देखिएका जिल्लामा त्यस्ता व्यक्तिहरू घरबाहिर ननिस्कन अनुराेध गरेका हुन् । यदि निस्कनै परेमा अनिवार्य रूपमा मास्क लगाउन तथा स्वास्थ्य मापदण्ड पुरा गर्न पनि उनले आग्रह गरे ।

‘काठमाडाैं उपत्यका, माेरङ, चितवन, सुर्खेत लगायतका ठाउँमा काेभिड १९ काे संक्रमण उच्च देखिएकाे छ । यस्ताे अवस्थामा ६० वर्ष उमेर पुगेका, मधुमेहका बिरामी, राेगविरुद्ध लड्ने शक्ति कम भएका, क्यान्सरका बिरामी, मिर्गाैला राेगीहरू लगायतका बिरामीहरूलाइ घरबाट ननिस्कन अनुराेध गर्दछु, ’उनले प्रेस ब्रिफिङका क्रममा भनेका छन्- ‘ घरबाट निस्कनै परे, अनिवार्य रूपमा मास्क लगाउन, दुइ मिटरकाे दुरी कायम गर्न तथा फर्केपछि साबुनपानीले हात धुन र सेनिटाइजर लगाउन हामी विनम्र अनुराेध गर्दछाैँ ।’

स्वास्थ्य मन्त्रालयका अनुसार आज मात्रै एक हजार ५७३ संक्रमित थपिएका छन् भने थप १० संक्रमितकाे मृत्यु र ८८५ जना डिस्चार्ज भएका छन् । आजकाे अपडेटसँगै देशभर काेराेना संक्रमितकाे कुल संख्या ७३ हजार ३९४ पुगेकाे छ । संक्रमितमध्ये ५३ हजार ८९८ जना डिस्चार्ज भइसकेका छन् भने हालसम्म ४७७ जनाकाे मृत्यु भइसकेकाे छ ।

प्रतिक्रिया