अवैध लागूऔषध सहित ६ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले विभिन्न स्थानबाट ६ जना लागू औषध काराेबारी प्रकाउ गरेकाे छ ।

पोखरा महानगरपालिका ६ स्कुल मार्गस्थित लेक टावर होटलको कोठाबाट १० किलो ५ सय ग्राम अबैध लागूऔषध अफिम, अफिम तौल गर्ने १ थान डिजिटल तराजु, ४ थान मोबाइल सहित ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रुकुम (पूर्व) पुथा उत्तरगंगा गाउँपालिका १ घर भएका ५० वर्षीय गज पुन, सोही ठाउँ बस्ने ४० वर्षीय चक्कर बहादुर पुन र गोरखा सुलिकोट गाउँपालिका ६ घर भएका २४ वर्षीय रवि गुरुङ रहेका छन् ।

बिभिन्न जिल्लाबाट लागूऔषध अफिम खरिद तथा संकलन गरी बिक्री गर्न लागेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौं र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उक्त होटेल जाँच गर्ने क्रममा झोलामा स-साना पोका बनाई राखेको अवस्थामा उक्त अफिम फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी कास्की, पोखरा महानगरपालिका १३ गौडाकोमुखस्थित बाटोबाट नियन्त्रित लागूऔषध २३ एम्पुल डाइजेपाम, २४ एम्पुल फेनारगन र २४ एम्पुल नुर्फिन सहित पोखरा महानगरपालिका १३ गैंडाको मुख बस्ने २५ वर्षीय दिपेश गुरुङलाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त स्थानमा बाटोमा हिँडिरहेका उनलाई जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी स्याङजा, अर्जुनचौपारी गाउँपालिका(३ छापा गहतेबाट करिब ३ किलो १ सय २४ ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ६२ वर्षीय तुल बहादुर क्षेत्री र सोही गाउँपालिका २ बस्ने २२ वर्षीय कृष्ण बहादुर गुरुङ रहेका छन् ।

उक्त स्थानमा गाँजा बिक्री बितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजा र प्रहरी चौकी अर्जुन चौपारीबाट खटिएको प्रहरीले तुलबहादुरको घरबाट करिब ३ किलो र कृष्णको घरबाट १ सय २४ ग्राम गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया