खर्कमै बित्यो आधा शताब्दी

हुम्ला । माथिल्लो हुम्लाका हिमाली क्षेत्रका बासिन्दा ४५ देखि ५५ वर्षसम्म चौँरी तथा पालुवा पशुको खर्कमा बस्ने गरेको पाइएको छ ।

खर्कमा बस्ने मानिसलाई स्थानीय बोलीचालीमा खर्काला लाग्ने भनिन्छ । घरको एक जना मानिस चुवाखोला क्षेत्रमा खर्कालाका रूपमा बस्नैपर्ने भएपछि उनीहरूको दैनिकी यसरी बित्दै आएको छ । उनीहरूको आधा शताब्दी खर्कमै बितेको छ ।

सिमकोट गाउँपालिका–१, दोजामकी नाथेर्मा लामा अहिले ७० वर्षकी भइन्। बीस वर्षको उमेरदेखि खर्कमा बस्दै आएकी लामाले अब त जिन्दगी पनि यसैमा बित्ने बताउँछिन् ।

ठ्याक्कै आधा शताब्दी भयो अर्थात् ५० वर्ष । सदरमुकाम सिमकोटसमेत नदेखेकी लामालाई खर्कमै बस्न रमाइलो लाग्ने लाग्छ । जेठ महिनामा गाउँ छोडेर खर्कतिर लाग्ने खर्कालाहरू कात्तिक महिनापछि मात्र फिर्ता हुन्छन् । चुवाखोला क्षेत्रको राकार्बुसम्म खर्क सारिन्छ ।

अहिले त वन क्षेत्र उनीहरूका लागि सामान्यजस्तो लाग्न थालेको छ । चिसो बढेसँगै खर्कहरू पनि सार्न थालिएको छ । लामाले आफू मात्र खर्क नभई नाति–नातिनी, बुहारी पनि राखेको बेलिविस्तार सुनाए । किनकि हिमाली क्षेत्रमा एक वर्षमुनिका शिशु भएका आमा पनि खर्कमै राख्ने गरिन्छ ।

साना नानीलाई स्वच्छ हावापानी हुने हुँदा खर्कमा पठाइन्छ । “उति बेला पढ्ने चलन थिएन, खर्कै रमाइलो थियो,” उनी थप्छन्, “अब पढ्ने चलनले नानीहरू खर्क ढुक्कले बस्दैन ।’’ वर्षाको पानीमा भने केही आपत् आउने र पानीमा भिज्दै चौँरी गाईलगायत पशु खोज्न जाँदाको पीडा भने उनलाई ताजै छ ।

दैनिक रूपमा काम गरिरहेको बानीले होला खर्कालुहरू बलिया पनि उस्तै देखिन्छन् । अर्को खर्कमा बिहानै पशुलाई चराउन पठाउनु, खोले पकाउनु, मही पार्नु बिहान ९ देखि १० बजेसम्म दुहुने काम, दिउँसो वनमा पठाउनु, छुर्पी सुकाउनु, दाउरा जम्मा गर्नु त खर्कालाका लागि दैनिक दिनचर्या नै हुन् । –गोरखापत्र दैनिक

प्रतिक्रिया