आफुलाई कोरोना लागेको छ भने नलुकाऔं यसले तपाईलाई नै फाईदा गर्छ र समाजलाई पनि

  • दीपक श्रेष्ठ, बेलायत

शनिबारको दिन दिउसाेको २ बजेको थियो । श्रीमतीको फोन आयो । बुढा मेरो त् काेभिड पाेटिभ देखियो नि । म स्तब्ध भए । के गर्ने, के भन्ने भयो । एक न एक दिन सर्छ भन्नेत थाहै थियो किनकि मेरी श्रीमती सीनियर नर्सकाे रूपमा कोभिडको बिरामीलाई दैनिकी जस्तो सेवा दिँदै आएकि थिईन ।

श्रीमतीले सिधै घर आउनुस भनेर पुन: फोन गरिन । तर मैले सोचे, यदि म आत्तिएर घर फर्कियो भने अफिसका सबै स्टाफहरू पनि आत्तिन्छन भनेर कसैलाई नभनि आफ्नै क्याबिन मै बसिरहे । एकछिन पछि श्रीमती ले एनएचएबाट पठाएको टेक्स म्यासेज मेरो विजनेश पार्टनरलाई देखाए । उहाँ पनि अकमक्क पर्नुभयो । पछि उहाँले पनि अहिले घर नजानुस भनेर सल्लाह दिनुभयो । म चुपचाप अफिसमै बसिरहे।

शनिबारको दिन हामीले ५ बजे बन्द गर्ने भएको हुँदा कति बेला अफिस बन्द होला र घर पुगेर श्रीमतीको स्थिति बुझौला भएको थियो । केहि समयपछि अफिस बन्द गरेर हामी आ-आफ्नो घरमा लाग्यौं ।

श्रीमतीले हामीलाई आवश्यक पर्ने सबै खाद्यान्न सामान ठुलो छोरालाई लिन पठाई सकेकि रहिछन्। घर पुग्दा सबै चिन्तित अवस्थामा थिए । सबैको अलग-अलग कोठामा सुत्ने ब्यबस्था मिलाई सकेकि थिईन । पेशाले नर्स भएकोले होला उनि हामीभन्दा कम डराएजस्तो लाग्थ्यो । तथापि उनिलाई नै लक्षण देखाएको थियो । उनि बढि चिन्तित मेरो बारेमा थिईन् । किनकि मेराे सानो सानो कुरामा आत्तिनै बानी थियो ।

उनि आफ्नो कोठामा, म गेस्ट रूममा र ठुलो छोरा, सानो छोरा अलग अलग सुत्ने गरी ठुलो बाबुको कोठामा बिस्तारा मिलाईएको थियो । ठुलो बाबु हामीभन्दा स्ट्रोंग देखिएकोले २-३ दिन उसले नै खाना बनाएर ढोका ढोकामा राखेर जान्थ्यो । यस्तो लाग्थ्योकि हामी सबै कैदिको जिबन बिताउँदै छौं ।

यसरी नै एउटै घरमा हामी एक्लो थियौं । एकअर्का सँग फोनमा भिडियो कल गरेर कुरा गर्थ्यौं । यसरी २-३ दिन बितिसक्दा पनि मलाई र ठुलो छोरालाई कुनै लक्षण देखिएको थिएन । सानो बाबु दिन भरी गेम खेलेर भुल्थ्यो तर, राती सुत्ने बेलामा उसलाई धेरै गार्हो हुने गर्थ्यो । किनकि उसलाई एक्लै सुत्ने बानी थिएन ।

I can’t sleep भनेर आमाको ढोका बाहिर रोईरहन्थ्यो । Mamu, are you dying with corona? उसको यो कुराले हामी सबैलाई धेरै भावुक बनायो । छोराको यो ब्यबहारले बच्चालाई धेरै मानसिक असर परेको महसूस गर्यौं । त्यसपछि म र सानु तल सिटिङ रूममा अलग-अलग बिस्तारा बनाएर सुत्ने निर्णय गर्यौं । त्यसपछि बल्ल सानु सुत्न थाल्यो ।

मैले हामी आइसाेलेसनमा बसेको कुरा २-३ जना साथीहरूलाई भनिसकेको थिए। एक दिन यसो मनमा आयो, यो कुरा लुकाउनु हुन्न, किनकि केहिदिन अगाडी हामी सँग सम्पर्कमा रहेका मान्छेहरूलाई सचेत बनाउनु पर्छ ताकि उहाँहरूले सतर्कता अपनाउन सकुन भनेर फेसबुकमा लेखिदिए ।

सबैको फ़ेसबुकमा शुभकामनाहरू आउन थाल्यो, फोनहरू आउन थाले । मलाई पनि भएको थियो, नआत्तिनोस, यो खानुस-त्यो खानुस, यसो गर्नुस-त्यसो गर्नुस भन्दै दिनहुँ सुझाव, सल्लाह र सहयोगको लागी सबैले फ़ोन गर्न थाल्नुभयो । सार्है खुसि लाग्यो हामीलाई । यसले हामीलाई धेरै सहयोग पुर्यायो।

सोसिएल मिडियामा राखेर राम्रो गर्नुभयो भनेर धन्यबाद समेत पाएको देख्दा आफुले राम्रो गरेको रहेछु भनेर खुसि पनि लाग्यो । त्यति मात्र कहाँ हो र ? साथी-भाई, आफन्तहरूले खाना बनाएर ल्याईदिने, सामान किनेर ल्याईदिने, टेकअवे ल्याइदिने सम्म गर्नुभयो । यसले हामीलाई धेरै मुद्दत पुग्यो । किनकि खाना बनाउने हिम्मत बिस्तारै बिस्तारै कम भैरहेको थियो हामीमा । सबै कुरा थियो तर खाना बनाउने हिम्मत थिएन । यहाँहरूको माया र सान्त्वनाले पनि हाम्रो लागि औषधिको काम गरिरहेको थियो ।

मेरो श्रीमतीलाई कहिले बढि च्याप्ने कहिले कम हुने भैरहेको थियो । छैठौ दिनदेखि मलाई पनि लक्षण देखिन थाल्यो। रूघा लाग्नु, जिउ कटकट दुख्नु, टाउको दुख्ने हुन थाल्यो । सानो छोरा लाई बुधवार देखिनै सञ्चो नभएकोले स्कुल पठाएका थिएनौं । स्कुलमा हामीले फोन गरेर सोमबार नै अपडेट गराएका थियौं । स्कुलले स्वाब टेस्टको लागि पठायो । श्रीमतीले आफैं सेम्पल निकालेर पोष्ट गरेर पठाईन तर, अहिलेसम्म रिजल्ट आएको छैन ।

तरपनि ठुलो छोरा बाहेक हामी तिनै जनालाई काेभिड भएको अनुमान गरि ठुलो बाबुलाई नलागोस भनेर उ सँग हामी सधैं टाढै रह्यौं । उसलाई सतर्क गराई रह्यौं । बिचरा छोरा टाढैबाट हजुर हरूलाई ठिक छ भन्दै सधैं सोध्ने गर्छ । हाम्रो बारेमा उ धेरै चिन्तित देखिन्थ्यो ।

श्रीमतीले सुरू देखिनै दिनको ४ पटक पारासिटामाेल लिरहेकि थिईन । मलाई पनि लक्षण देखिएपछि मैले पनि पारासिटामाेल लिन थाले ।

७ औं दिनको राती ३ बजे म एक्लै कोठामा सुतिरहेको बेला एक्कासी श्वास प्रश्वासमा गार्हो भयो, उठेर बेडमा बसे। यता उता हिँडे, नभएर किचेनमा गए, तातोपानी तताए, गार्डेनमा टहलिरहे, त्यतिन्जेलसम्म पानी ताती सकेको थियो । किचेनमा बसेर पानी पिउँदै थिए । नराम्रो नराम्रो सोच आउन थाल्यो । यस्तो लाग्यो, अब त के हो, के हो ? आफ्नो २ सन्तान र श्रीमती बाहेक दिमागमा केहि आएन । श्रीमतीलाई नि सन्चो नभएकोले डिस्टर्व नगरौं भनेर बसिरहेको थिए । तर नसकेर जुरूक्क उठेर श्रीमतीको कोठामा गएर भने, उनि पनि आत्तिन । हार्ट बिट,अक्सिजन लेबल, ब्लडप्रेसर चेक गरिन, ठिक रहेछ । हार्ट बिट अलिकम रहेछ । पछि बिस्तारै नर्मल भयो।

भोलीपल्ट बिहान हामीले अललम-बिललमको अभ्यास गरिरहेका थियौं । मेरो एक जना दाईले फोन गरेर श्वास प्रश्वासको अर्को बिधिको भिडियो भाईवरमा पठाईदिन्छु भन्नुभयो । त्यो हेरेर अभ्यास गर्न थाल्यौं ।

यो धेरैनै लाभदायक रहेछ । घोडाले र कुहिनाले टेक्ने, दुबै हातमुठ्ठि पारेर टाउको राख्ने, अनि खोक्ने । ५ मिनेट ३ पटक हरेक बिहान । सार्है सजिलो पनि र फाईदाजनक रहेछ । भिडियोको लिंक शेयर गरेको छु । आवश्यक परे अभ्यास गर्नु होला ।

https://www.facebook.com/100000225314758/posts/4824965850854211/?sfnsn=scwspmo&extid=DpIDJ51EmLb3ZRDV&d=n&vh=i

उपचारको रूपमा हामीले सुरू देखिनै बेसार, अदुवा, मरिच, जिरा मिसाएर दिनको ४ पटक पिउने गर्यौं । दैनिक ब्यायाम गर्यो, दिनको २ पटक स्टिम लियो, परिवार सँग घाम लागेको बेला दिनहुँ गार्डेनमा बस्यो ।

दिनहुँ देश बिदेशबाट फोन आउँछ, फोनमा कुरा गर्यो, च्याट गर्यो, आफ्नो अफिसको कस्टमरहरू सँग कुरा गर्यो, किनकि म घरबाटै सक्दो अफिसको काम पनि गर्दै आएको छु । समय यति छिटो बितेको थाहै भएन ।

भाइसरले आक्रमण गरेपछि केहि त असर गरिहाल्छ नै । तरपनि आत्तिइहाल्नु नपर्ने रैछ । परिवारमा सबैलाई सर्छ भन्ने पनि रहेनछ। किनकि आज १२ दिन भयो आइसाेलेसनमा बसेको । ठुलो बाबुलाई केहि लक्षण देखिएन । उ ठिक छ र हामी पनि सबै ठिकै छौं ।

आफुलाई कोरोना लागेको छ भने नलुकाऔं। यसले तपाईलाई नै फाईदा गर्छ र समाजलाई पनि । यो जो कोहिलाई नि थाहै नपाई सर्न सक्छ, त्यसैले संक्रमितलाई माया र सम्मान गरौं ।
अन्तमा,तपाईंहरूको आशिर्बाद, शुभकामना,माया र सहयोगको लागि कृतज्ञ छौं ।

याे अनुभव हामीले बेलायतमा रहेका दीपक श्रेष्ठकाे फेसवुक वालबाट साभार गरेका हाैं ।

प्रतिक्रिया